२७ असार ।
नारायणी सामुदायिक अस्पतालले आफ्नो बार्हौ वर्ष प्रवेशको अवसर पारेर आफ्ना सेवालाई अत्याधुनिकसंगै अझ प्रभावकारी बनाउने भएको छ ।
११ वर्ष अघि ५० शैंयाको क्षमतामा सेवा प्रारम्भ गरेको अस्पताल अहिले १ सय शैंयाको क्षमताबाट आफ्नै भवनमा संचालन गरिरहेको छ । वार्षिकोत्सवको अवसर पारेर मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष भक्तमान श्रेष्ठले जिल्लामा संचालित अन्य निजि अस्पतालहरुको तुलनामा यो अस्पतालको भौतिक संरचना उत्कृष्ट र ओपीडी शुल्क निकै कम रहेको दाबी गरे । ‘नेपाल सरकारको मापदण्ड अनुसार विपन्न वर्गलाई लक्षित गरि प्रत्येक वार्डमा निःशुल्क शैयाको व्यवस्था छ’–उनले भने–‘निकट भविष्यमै यो अस्पतालले आईएसओ प्रमाणपत्र पाउने छ ।’ हाल यो अस्पतालमा ३ वटा मेजर शल्यक्रिया कक्ष, २ वटा माईनर शल्यक्रिया कक्ष, १० शैंयाको आईसियू, ११ शैंयाको पोष्ट अपरेटिभ वार्ड, १० शैंयाको एनआईसियू, ११ शैंयाको ईमरजेन्सी वार्ड, १० शैंयाको गाईने वार्ड, इएनटी, कार्डियाक वार्ड, डिलक्स क्याबिनहरु संचालनमा छन् ।
अस्पतालको वार्षिक तथ्यांक अनुसार ७५ देखि ९० हजार बिरामीले सेवा लिने गरेका छन् । १६ देखि १७ वटा सम्म दिनहुं मेजर शल्यक्रिया हुने गरेको छ । कार्यरत अधिकांश चिकित्सकहरु विशेषज्ञ हुनाले दिनप्रति दिन जिल्ला भित्रका मात्र नभई अन्य जिल्लाका बिरामी समेतको चाप बढ्दै गएको अस्पतालका कर्मचारीहरु बताउछन् । अन्य निजि अस्पतालको तुलनामा नारायणी सामुदायिकले निकै कम सेवा शुल्क लिने गरेको अस्पतालको दाबी छ । क्यान्सर उपचारमा नेपालकै नमुना मानिएको विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल पछि क्यान्सर रोगको शल्यक्रिया तथा उपचार गर्ने प्रमुख अस्पतालको रुपमा विकास हुदैं गएको छ । ‘मृगौला बिरामीको संख्या दिन प्रति दिन बढ्दो छ’ –डा. श्रेष्ठले भने–‘त्यही भएर यो वर्ष भित्र अस्पतालमा डायलसिस सेवाको पनि प्रारम्भ गर्ने योजनामा छौ ।’
१ सय ८० जनाको शेयर रहेको यो अस्पतालले आफ्नो सेवा अन्र्तगत दुरबिनबाट सानो प्वाल पारेर मृगौला तथा मूत्रनली एवं मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधी, दुरबिनबाटै पुरुष ग्रन्थीको शल्यक्रिया, सिटीभिएस् (रगतका नशाहरु तथा छातीमा समस्या देखिएमा गरिने अपरेशन विधी) महिलाहरुको स्तन क्यान्सरको परिक्षण विधि लगायतका उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।
मुटु, मृगौला, क्यान्सर जस्ता बिरामीलाई लक्षित गरि सुपर स्पेस्लाईज्ड हस्पिटल निर्माण गर्ने उद्येश्यले यही वर्ष भरतपुर–९, चितवनमा ६६ कट्ठा जग्गा किनिसकेको र चाडैं नै भौतिक पुर्वाधार निर्माण कार्यको थालनी गर्ने अस्पताल संचालक समितिले जनाएको छ । अस्पतालले बिरामीको उपचार सेवासंगै स्वास्थ्य संकाय तर्फको विभिन्न शैक्षिक कार्यक्रमहरुबाट दक्ष जनशक्ति तयार गरेको जनाएको छ । अस्पतालले हाल शैक्षिक कार्यक्रम तर्फ स्टाफ नर्स, एच ए, बि एन, वि एस्सी नर्सिगं, ल्याब टेक्निसियन, सिएमए तथा एएनएमको अध्यापन समेत गराउदैं आएको छ । नेपाल पोलिटेक्निक ईन्ष्टिच्यूट तथा एन.पि.आई. नारायणी सामुदायिक हस्पिटलका संस्थापक कार्यकारी निर्देशक तथा वर्तमान सञ्चालक समितिका सदस्य चुडामणी खनालले विभिन्न विधामा संचालित शैक्षिक संकायको विभिन्न विधामा अध्ययन पुरा गरेका बिद्यार्थीहरु अहिले विभिन्न जिल्लाका स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको बताए । अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर बुधबार रक्तदान तथा बिहिबार ओपीडी सेवा निःशुल्कसंगै अन्य परिक्षणहरुमा ५० प्रतिशत छुट दिने जनाएको छ ।