भरतपुर, २८ वैशाख ।
आज दलहरुले स्थानीय तह निर्वाचनको लागि भोट माग्ने अन्तिम दिन । देशभर दलहरुले अन्तिम चुनावी सभाहरु गरिरहेका छन् ।
चुनावी तालमेल गरी संयुक्त उम्मेद्वार उठाएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुरमा संयुक्त चुनावी सभा गरी मेयर र उपमेयर पदमा जिताउन आह्वान गरेका छन् । दुवै पार्टीका शीर्ष नेता भरतपुरको केन्द्रीय बस टर्मिनल आएर संयुक्त सभामार्फत दुवै पार्टीका कार्यकर्ता तथा मतदातासँग मत मागेका हुन् ।
“यो गठबन्धन भोलिलाई हेरेर गरिएको हो”, कांग्रेस सभापति शेरबहादुर देउवाले भने, “तपाईंहरु इमानदार भएर मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाहलाई भोट हाल्नुस्, यसले हाम्रो भोलि राम्रो बनाउनेछ ।” देउवाले कांग्रेसलाई माओवादीले पनि सहयोग गरेको हुनाले निराश नहुन कार्यकर्तालाई आह्वान गरे । “पोखरामा हाम्रो मेयरलाई सघाउनुभएको छ”, उनले भने, “तपाईंहरुले यहाँ सहयोग नगरे भोलि पोखरामा हामीलाई अप्ठ्यारो पर्नेछ, त्यसैले ढुक्क भएर भोट हाल्नुहोस् ।
देउवा बोलेपछि अन्तिममा बोलेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले अग्रगमनका लागि यो गठबन्धन गरिएको र यो लामो समयसम्म जाने बताए । “भोलिको उज्यालोका लागि यो गठबन्धन हो”, उनले भने, “हामी लामो समयसम्म यसरी नै जान सक्छौं, त्यसैले मिलेर अघि बढौं ।” उनले मेयर र उपमेयर दुवै पदमा महिला उम्मेद्वार भएका कारण पनि यहाँको उम्मेद्वारी अन्त भन्दा फरक भएको बताए ।
देउवालाई भावी प्रधानमन्त्री भन्दा…
सम्बोधनका क्रममा प्रचण्डले देउवालाई सम्झिए । उनले हामी एकै मञ्चमा छौं भन्दै देउवातिर फर्किएर भने, “पूर्वप्रधानमन्त्री देउवाजी यहीं हुनुहुन्छ, अझै भन्दा उहाँ त भावी प्रधानमन्त्री नै हुनुहुन्छ ।” त्यहीबेला अर्का नेतासँग गफ गरिरहेका देउवाले प्रचण्डले भनेको बुझेनन् । अनि आडैमा रहेका कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठलाई सोधे, “के भने प्रचण्डले ?” तपाईंलाई भावी प्रधानमन्त्री भन्नुभएको भनेर श्रेष्ठले सम्झाएपछि देउवा हौसिए । कोट र टोपी मिलाएर जुरुक्क उठे र सभामा उपस्थित सबैतिर हात उठाएर अभिभावदन गरे । माहोल एकछिन हाँसोमय भयो ।
प्रचण्डपुत्री भन्दा मन दुख्छ
प्रचण्डले आफ्नी छोरी रेणुको बारे बोल्दै भने, “रेणु हाम्री छोरी पक्कै हो । तर, उनको आफ्नै राजनीतिक त्याग र बलिदानी छ । उनी आफै सक्षम छिन् । प्रचण्डपुत्रीमात्रै भनेर मिडियाले लेखिदिदा मलाई चित्त दुख्छ ।”
आजै राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले दलहरुले गर्ने चुनावी प्रचारसम्बन्धी सबै कार्यक्रम आज सक्नुपर्नेछ । मौन अवधि सुरु भएलगत्तै चुनावी सभा, प्रचारप्रसार, विज्ञापन प्रकाशन तथा प्रसारण सबै बन्द गर्नुपर्ने छ । सोहीअनुसार आज चितवनमा पनि विभिन्न दलले चुनावी सभाहरु गर्दैछन् ।