भरतपुर, १७ भदौ
मेडिकल सिटीका रुपमा परिचित चितवनमा अस्पतालहरुबीच समन्वय नहुँदा कैयौँ बिरामीले दौडाउँदा दौडाउँदै मृत्युवरण गर्नुपरेको छ ।
अस्पतालहरुमा आईसीयू नपाउँदा अस्पताल चहार्दा चहार्दै पछिल्ला केही दिनमै ४ जनाले ज्यान गुमाउनुपरेको छ ।
अब भने समन्वयको अभाव चिर्नका लागि संयन्त्र बनाइएको छ । अब स्वस्थ्य उपचारसम्बन्धी केही गुनासो भए चितवनका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनाइएको संयन्त्रलाई सिधै फोन गर्न सकिनेछ ।
यो संयन्त्रले सहजै उपचार नपाएको बिरामी पक्षको गुनासोसँगै स्वास्थ्य सेवा दिनेहरुको पनि गुनासो सुन्नेछ ।
जसका लागि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही (९८५१२२७८६१), जिल्ला प्रहरी कार्यालयका तर्फबाट फिल्ड अधिकृत प्रहरी निरीक्षक(९८५५०४६००५) वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (९८४४२०८८८८) लाई फोन गर्न सकिन्छ ।