विनोदबाबु रिजाल
भरतपुर, २७ असार ।
नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल जितेको छ । काठमाडौंमा केहीबेरअघि सम्पन्न एएफसी अण्डर २३ मैत्रीपूर्ण फुटबल प्रतियोगिता १–० गोलअन्तरले जितेको हो ।
पहिलो हाफको १९ औं मिनेटमा नेपाली कप्तान विमल घर्ती मगरले गरेको गोल नै निर्णायक बन्यो । अञ्जन विष्टले दिएको ब्याक पासमा डिबक्स नजिकैबाट विमलले सुन्दर गोल गरे । त्यसलगत्तै बंगाली खेलाडीसँगको ट्याकलमा घाइते भएका विमललाई विश्वास श्रेष्ठले प्रतिस्थापन गरे ।
पहिलो हाफमा नीरिह देखिएको बंगाली टोली दोस्रो हाफमा केही आक्रामक देखिएपनि गोल फर्काउन सकेन ।
नेपालले दोस्रो हाफमा पाएको धेरै मौका गुमायो । खेलको इञ्जुरी टाइममा विश्वासले डिबक्स नजिकै पाएको वान टु वान सुन्दर मौका गुमाए ।
संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको लागि यो खेल तयारी मानिएको छ । सन् २०१८ मा चीनमा हुने प्रतियोगिताका लागि एसियाका देशहरुलाई १० समूहमा विभाजन गरिएका छन् । त्यसबाट विजेता १० टोली फाइनल चरणमा प्रवेश गर्नेछन् । त्यस्तै १० वटा उपविजेता टोलीमध्ये उत्कृष्ट ५ टिमले पनि फाइनल चरणमा प्रवेश पाउनेछन् ।
चीनले आयोजकको हैसियतले फाइनल चरण खेल्न पाउनेछन् । यदि उत्कृष्ट १५ भित्रै चीन पनि परेमा थप एक उत्कृष्ट समूह उपविजेताले अन्तिम १६ को यात्रा तय गर्न पाउनेछन् ।