एजेन्सी ।
भरतपुर, १६ भदौ ।
कोरोना भाइरसको संक्रमण सुरु भएको चीनको वुहान राज्यका सम्पूर्ण विद्यालयमा आजदेखि पठनपाठन पुनः सुचारु गरिएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार वुहानका २ हजार ८ सय ४२ विद्यालयमा पढाइ सुरु भएको हो । भाइरसको संक्रमण फैलिएसँगै वुहानका करिब १४ लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका थिए ।
वुहानका विश्वविद्यालय भने शुक्रबारदेखि नै खुलिसकेका छन् । भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खोल्न लागिएको भए पनि त्यहाँका अधिकारीहरूले अनावश्यक भेला वा सम्मेलन नगर्न तथा आवश्यक सुरक्षाका उपाय अपनाउन निर्देशन दिइएको जनाएका छन् । कोरोना भाइरसका कारण वुहानमा ३ हजार ८ सय ६९ जनाको ज्यान गएको थियो । यो चीनमा भाइरसका कारण मृत्यु हुनेको ८० प्रतिशतभन्दा बढी हो । गत अप्रिलदेखि सामान्य अवस्थामा फर्केको वुहानमा त्यसयता संक्रमित भेटिएका छैनन् ।
वुहानसँगै चीनका अन्य विभिन्न राज्यका विद्यालय तथा विश्वविद्यालय पनि क्रमशः खोल्ने बताइएको छ ।