भरतपुर,२७ असार।
स्क्रिन प्रिन्ट व्यवसायमा युवाको आकर्षण बढ्न थालेको छ । थोरै लगानीबाट सजिलै आम्दानी गर्न सकिने भएपछि युवाले यो व्यवसाय रोज्न थालेका छन् ।
स्क्रिन प्रिन्ट, ग्रार्मेन्ट प्रिन्ट, सब्लिमेसन प्रिन्ट गर्ने व्यवसाय चलाउने युवाको जमात बढ्दै गएको छ । कपडा तथा झोलामा नाम तथा डिजाइन छाप्ने, शिलालेख, ताम्रपत्रमा लेख्ने, मायाको चिनो, भिजिटिङ कार्ड, स्ट्याम्प बनाउनेजस्ता काम स्क्रिन प्रिन्ट व्यवसायअन्तर्गत पर्छ ।
नारायणगढस्थित प्रेस मार्गमा रहेको आलोक ग्राफिक्समार्फत स्क्रिन प्रिन्टलगायत काम गर्दै आइरहेका पुन थापा स्वदेशमै आत्मनिर्भर बन्दा दंग छन् । “विदेशमा कमाइने यहिं कमाइ हुन्छ”, उनले भने, “लगानी धेरै चाहिदैन, तर मिहनेत र सृजनशीलता चाहिन्छ ।” चीन र भारत पुगेर उनले स्क्रिन प्रिन्ट व्यवसायबारे जानकारी लिएका थिए । केही वर्ष काठमाडांैमा व्यवसाय सञ्चालन गरेका थापा चितवन आए । झण्डै १२ वर्षदेखि उनी निरन्तर यही व्यवसायमा छन् । उनको व्यवसायबाट दुई जनाले रोजगारी पाएका छन् । “व्यवसाय राम्रो चल्न थालेपछि अत्याधुनिक मेसिन भित्राएँ”, उनले भने, “सुरुमा ५० हजार लगानी थियो, अहिले २० लाख लगानी गरिसकेको छु ।” उनी बढीमात्रामा शिलालेखमा लेख्ने, काठमा बुट्टा भर्ने, मायाको चिनो तयार गर्ने काम गर्छन् ।
नारायणगढमा आर्यन स्क्रिन प्रिन्टका सञ्चालक भविश्वर पाण्डे २९ वर्षदेखि यही व्यवसायमा छन् । स्थानीय तहको पहिलो चरणको चुनावमा उनलाई भ्याइनभ्याइ थियो । “चुनावमा मात्रै झण्डै साढे दुई लाखको कारोबार भयो”, उनले भने, “टिसर्ट र टोपीमा पार्टीका चिन्ह छाप्दा फुर्सदै भएन ।” उनी काठमाडौंमा झण्डै दुई दशक काम गरेर चितवन आएका हुन् । “सरदर मासिक १ लाख कारोबार हुन्छ”, उनले भने, “सीप सिकेर यो व्यवसाय रोज्ने हो भने विदेश जानै पर्दैन ।”
नारायणगढकै चोधरी स्क्रिन प्रिन्टका सञ्चालक दीपक चौधरी १७ वर्षदेखि यो व्यवसायमा छन् । “पहिलेभन्दा अहिले तीव्र प्रतिस्पर्धा छ”, उनले भने, “काम घटेको छैन, व्यवसायमा विविधता आएको छ ।” उनले स्थानीय तहको चुनावमा झण्डै ४ हजार टोपीमा पार्टी चिन्ह राखे । “सहकारी, संस्था सबै स्क्रिन प्रिन्ट गर्न आउँछन्”, उनले भने, “संघर्ष बढी छ, तर कमाइ सन्तोषजनक छ ।” उनी टोपी, झोलामा स्क्रिन प्रिन्ट गराउन सधैं व्यस्त छन् । “पसल धेरै खुल्न थालेका छन्”, उनले भने, “व्यवसाय, संस्थाको परिचय गराउन स्क्रिन प्रिन्ट गराउन चाहने धेरै भएकाले काम घटेको छैन ।”
स्क्रिन प्रिन्ट प्रदर्शनी गरिदैँ
स्क्रिन प्रिन्ट व्यवसायमा बढ्दो आकर्षणलाई लक्षित गरी पहिलो पटक चितवनमा स्क्रिन प्रिन्ट प्रदर्शनी गरिने भएको छ । उद्योग वाणिज्य संघ–चितवन र स्क्रिन प्रिन्ट नेपालको आयोजनमा यही साउन २ र ३ गते नारायणगढमा प्रदर्शनी सञ्चालन तयारी छ । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष तथा प्रदर्शनी संयोजक राजन गौतमले स्क्रिन प्रिन्ट व्यवसायमा लाग्न चाहने युवालाई लक्षित गरी प्रदर्शनी गर्न लागिएको बताए ।
“यो व्यवसाय बेरोजगारी भए भनेर निराश भएका युवालाई स्वरोजगारको एक विकल्प बन्न सक्छ”, उनले भने, “थोरै लगानीबाट आर्यआर्जन गर्न सजिलो व्यवसाय हो ।” चितवनमा व्यवसायिकरुपमा झण्डै दुई दर्जन स्क्रिन प्रिन्ट व्यवसाय सञ्चालनमा छन् । झण्डै १ सय ५० युवाले रोजगार पाएका छन् । व्यवसायलाई एकीकृत गर्न स्क्रिन प्रिन्ट नेपाल नामक संस्थासमेत गठन गरिएको छ । यो संस्था दर्ताको प्रक्रियामा छ ।
स्क्रिन प्रिन्ट नेपालका अध्यक्ष तथा प्रदर्शनीका सहसंयोजक प्रभात ढुङ्गानाले व्यवसाय स्तरोन्नति गर्न नयाँ प्रविधि, केमिकल, मसीलगायतका कच्चा पदार्थबारे व्यवसायीलाई जानकारी दिइने बताए । “व्यवसायीलाई व्यवसाय विकास गर्न मद्धत पुग्नेछ, युवालाई यो व्यवसायमा प्रवेश गर्ने अवसर मिल्नेछ”, उनले भने, “भारतदेखि यो व्यवसायका चर्चित व्यवसायीका स्टल समेत रहने छन् । १६ वटा स्टल रहने प्रदर्शनीमा निशुल्क प्रवेश दिइने छ ।