मिति : २०७७ भाद्र १५ गते साेमबार
समय : बेलुका ९:३० बजे
स्थान : सामुदायिक प्राकृतिक चिकित्सालय,
रजहरकाे काेठा नं. २९ ( आईसाेलेसन कक्ष )
प्रिय जीवनसंगिनी
मुटुभरिकाे माया अनि गहिराे सम्झना ।
छाेरा छाेरी दुवैमा शुभ आशीर्वाद !
मैले घर छाडेकाे पनि आज १३ दिन भईसकेछ । यतिका धेरै दिन हाम्राे विवाहपछि अहिलेसम्म छाेडेकाे थिईनँ । पत्र नलेखेकाे पनि करिब १२ वर्ष भएछ । लेख्नुपर्ने अावश्यकता पनि कहिल्यै परेन सँगै भएपछि । अहिले पनि दिनकाे ४/५ पटकसम्म अडियाे र भिडियाेमा कुरा त भईरहन्छ तर पनि अाज किन हाे पत्र लेख्न मन लाग्याे । आईसाेलेसन बसाईकाे सबै दिनलाई दैनिकीकाे रूपमा लेखेकाे छु । सकिएछ भने त्यसलाई पुस्तककाे रूप दिने साेच छ । अाज त्यही दैनिकी लेख्ने समयमा याे पत्र लेख्दै छु ।
कोरोना भाइरस काेभिड १९ काे संक्रमणका कारण म अहिले अाईसाेलेसनमा बसिरहेकाे भए पनि मलाई कुनै विरामी परेकाे अाभास भएकाे छैन केवल क्षितिजपारिकाे देशमा बसिरहेकाे अाभास हुन्छ । त्यैपनि यस ठाउँकाे वातावरण र यहाँ अाईसकेपछि पाईने माया, ममता र सम्मानले सबै कुरा बिर्सिएकाे छु ।
नवलपुर जिल्लाकाे काेभिड १९ अस्थायी अस्पताल तथा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरकाे याे अाईसाेलेसन देशकै उत्कृष्ट र नमुना बनिरहेकाे छ । यहाँकाे याेगाभ्यास, ध्यान, खेल र मनाेरञ्जनात्मक क्रियाकलापले हामीमा भएकाे काेराेना भगाईसकेकाे छ । हामी यहाँ ठूलाे परिवार सहित रमाईलाेमा छाैं । हाम्राे केही चिन्ता लिनु पर्दैन । हामी स्वस्थ र खुशी छाैं । बरू तिमी त्यहाँ एक्लै छाै, केटाकेटी सानै छन् । काेठाबाहिर निस्कन पाएकी छैनाै । सानी छाेरी बल्ल हिँड्ने प्रयासमा थिई । बाेलीले डुल्न जाउँ भन्न नसके पनि उसकाे हाउभाउले डुल्न जाउँ भनिरहेकाे हुन्थ्याे । अाफैं उभिएर एक/दुई पाईला चाल्न सुरू मात्र गरेकी थिई । यतिकै भित्र बसिरहँदा कति दुख दिई हाेला ? छाेराे भर्खर साईकल चलाउन जानेर दाैडाउँदै थियाे । एकछिन घर नबसी साईकल लिएर डुलिरहन्थ्याे । त्याे ठाउँ शिल भएपछि अाठ दिनसम्म त गल्लीमा फुटबल खेल्ने साथी त म थिएँ । अहिले खेल्न नपाउँदा उसका गाेडा पनि कति कुज्जियाे हाेला । चकचक गरिरहने, चञ्चले उमेरकाे छाेराले पनि पक्कै दुख दिईरह्याे हाेला । मैले ती सबै दुखकाे अनुभूति गरिरहेकाे छु । म अाईसाेलेसनमा भईरहँदा मेराे कत्ति पिर छैन तर तिम्राे र छाेराछाेरीकाे पिर लागिरहन्छ । नआत्तिअ । धैर्य हाेऊ । तिमीहरू सबैकाे काेराेना परिक्षणमा नेगेटिभ नतिजा अाएपछि म अलि ढुक्क भएकाे छु ।
अझै पनि घरमा रहँदा ताताेपानी, बेसारपानी, महपानी, कागतीपानीकाे प्रयाेग गर । साबुनपानीले पटकपटक हात धुन केटाकेटीलाई पनि सिकाऊ । बाहिर निस्कनै परे माक्स, पञ्जा र सेनिटाईजरकाे प्रयाेग गर । हामी यहाँ दिनहूँ उठ्ने बित्तिकै नुनपानीले कुल्ला गर्ने, जलनेती गर्ने, तुलसीकाे बाफ लिने गर्छाैँ । तिमीले पनि त्यहाँ त्यसै गर्ने गर । छाेरालाई सिकाऊ । बिहान जानेकाे र सकेकाे याेग गर । अरू केही चिन्ता लिनु पर्दैन । घर भाडा कसरी तिर्ने, साहूकाे ऋणकाे व्याज कसरी तिर्ने भन्ने चिन्ता हाेला । त्यसकाे कत्ति पनि चिन्ता नगर म व्यवस्थापन गर्छु । स्वास्थ्यकाे ख्याल गर । स्वास्थ्य रहे सम्पत्ति त पछि पनि कमाउन सकिएला ।
म, दाइ, भाउजू लगायत त्यस टाेलका छिमेकीहरू जाे अहिले हामीसँगै छाैं, उहाँहरू सबेै अाराम हुनुहुन्छ । समाचारमा सुनेकै हाैली, काेराेनाका कारण दिनहूँ यति मान्छेकाे मृत्यु भनेर तर हामी यस अाईसाेलेसनमा रहेका सबै अारामै छाैं । यहाँबाट ३०० जना भन्दा बढिले कोरोनालाई जितेर जानू भएकाे छ । अहिलेसम्म काेही पनि काेराेनासँग हार्नु भएकाे छैन । नवलपुर जिल्लामै काेही पनि हार्नू भएकाे थिएन तर दुखद् भन्नू पर्छ अस्ति मात्रै १ जनाले काेराेनासँग हार्नु भयाे, त्याे पनि अन्य राेगसँग लड्दालड्दै भरतपुर अस्पतालमै उहाँकाे हार भएकाे थियाे । उहाँका परिवार हामीसँगै हुनुहुन्छ र पनि कत्ति बिचलित हुनुहुन्न । अाज अर्का एक जना हाम्राे याे ठूलाे परिवारका सदस्यले अाफ्नाे अभिभावक गुमाउनु भयाे त्याे पनि अस्पतालमा अन्य राेगकै कारणले गर्दा हाे । उहाँहरू पनि धैर्यका साथ यहीँ रहनु भएकाे छ । मुटुकाे अप्रेशन भएकाे अामालाई लिएर उहाँकाे छाेरी पनि हामी संक्रमितकै बिचमा ढुक्कले बस्नु भएकाे छ । तसर्थ तिमीले हाम्राे कत्ति पनि चिन्ता लिनु पर्दैन । हाम्राे अाज तेस्राेपटक स्वाव संकलन गरिएकाे छ । पक्कै पनि हाम्राे नतिजा नेगेटिभ अाउनेछ र हामी छिट्टै घर फर्किनेछाैं ।
हामी यहाँ आएदेखि नै यस आईसाेेलेसन केन्द्रका तथा सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनाेद पाैडेल, व्यवस्थापक हरि सापकाेटा, सञ्चालक समितिका अध्यक्ष सन्तबहादुर क्षेत्रीले पटकपटक हामीलाई उत्प्रेरित गरिरहनु भएकाे छ । हाम्राे स्वास्थ्यकाे सम्बन्धमा साेधपुछ गरिरहनुहुन्छ ।
प्रिय,
तिमीले मेरो बसाई र खानाकाे चिन्ता पनि गर्यौ हाेला । यहाँ हाम्राे बसाई अानन्दित छ । खाना पनि सफा र मीठाे छ । बरू तिमीले त्यहाँ के खायाै भन्ने चिन्ता छ । यतिका दिनसम्म बाहिर ननिस्किकन कसरी व्यवस्थापन गर्यौ हाेला । खानेकुरा वा तरकारी केही सकिए छिमेकीलाई फाेन गरेर मगाउनु । सानी छाेरीलाई दूध चाहिन्छ त्याे पनि नियमित मगाईरहनु । छाेराकाे अनलाईन कक्षा सञ्चालन भईराखेको हाेला । उसलाई पढ्न भन्नू । सानी छाेरीलाई बिचरा के थाहा हाेला बाबालाई काेराेना संक्रमित भएकाे छ भनेर । बाबा कहाँ गयाे भनेर साेचि हाेली । घरी घरी बा….बा….. मात्र भन्थी । मेराे काखमा नबसी उसकाे मन रम्थेन । मलाई माेबाईलमा भिडियाे गरेर बेला बेलामा देखाईदिनु । अरू त के भनाैं तिमी अाफैं कुरा बुझ्ने छाै ।
म अब कोरोनालाई जितेर छिट्टै घरमा आउनेछु । सँगै बसेर सुखदुःख साटौंला, रमाऔंला । यत्तिका दिन पर्खियौ, एक दुई दिन मात्रै धैर्य गर ल ।
उही तिम्राे जीवनसाथी अर्जुन अविरल ।