भरतपुर, १५ भदौ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण देखिएको छ । महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले नगर प्रमुख शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
“उहाँमा कुनै लक्षण छैन । अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ । आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह गर्नुभएको छ”, सञ्चार विज्ञ बाँस्तोलाले भने ।
मेयर शाक्यकी श्रीमतीमा कोरोनासँग मेल खाने लक्षण देखिएपछि उनी ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए । त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको बाँस्तोलाले बताए । बाँस्तोलाका अनुसार मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले शनिबारदेखि मेयर शाक्य घरमै रहेको बताए । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मेयर शाक्य केही दिन होम आइसोलेसनमै बस्ने बताइन् । उनले भनिन्, “मेयर साबसँग मेरो कुर भयो । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको भन्नुभयो ।”
स्रोतः इकान्तिपुर डट कम