विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२७ असार।
नारायणी कला मन्दिर साहित्य, कला र संस्कृतिको जगेर्ना गर्न लागिपरेको थलो हो । यहाँ प्रायः सांगीतिक कार्यक्रम हुन्छन् । राष्ट्रियस्तरका केही कलाकार सुरुआती अवस्थामा यही मञ्चबाट निखारिए ।
चरित्र अभिनेता ऋिद्धिचरण श्रेष्ठ, नायिका मौसमी मल्ल, नायक सरोज खानल चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मी, नायक गणेश उप्रेती र नाट्यकर्मी पुष्प आचार्यले नारायणी कला मन्दिरबाट आफ्नो प्रतिभा निखारेका थिए । २०१६ सालमा स्थापना भएको कला मन्दिरले पहिलोपटक नाटकसम्बन्धी कार्यशाला गोष्ठी गरिएको छ । अभिनयमा लागिसकेका केही युवासहित नाट्य क्षेत्रमा रुचि राख्ने युवाले नाट्य विधाबारे तालिम लिएका छन् ।
माडी अम्बासकी संगिता ढकाल नाटक खुबै रुचि दिएर हेर्थिन् । तर, नाटक के रहेछ भनेर बुझ्ने मौका उनले पाइन् । “मैले १५ दिनसम्म नाटक विधाको तालिम लिएँ”, उनले खुसी साटिन्, “हेर्दा सजिलो लाग्छ, तर अभिनय गर्न कठिन छ, अभिनय क्षेत्रबाटै चिनिने उत्साह जागेको छ ।” धेरै मान्छेका अगाडि अभिनय देखाउन सक्दिनँ भन्ने डर हटेको उनको अनुभव छ । “तालिम लिइयो, अब हामी नाट्य क्षेत्रबाटै चिनिन चाहन्छौँ”, उनले भनिन्, “कला मन्दिरले पनि हामीलाई बाटो देखाउने काम गरोस् ।”
स्थानीय टेलिचलचित्रमा खेल्दै आएकी भरतपुर बेलटाँडीकी सलिना वाग्ले शारीरिक हाउभाउबारे नयाँ ज्ञान पाएको बताउँछिन् । “जानीनजानी अभिनय त गरियो”, उनले भनिन्, “संवादमात्रै ख्याल गरियो, तर जीवन्त अभिनयमा ख्याल नगरेको आभाष भयो, अब निखारता आउने छ ।”
भरतपुर–१९, रामपुरका मीन घलान तीन नाटकमा अभिनय गरिसकेका व्यक्ति हुन् । साली कसको भेनाको, अन्तिम लाश र घण्टी नाटकमा उनले अभिनय गरे । हासीदेऊ एकफेर र किसान चलचित्रमा बुबा र वकिलको भूमिकामा उनले अभिनय गरे । “प्रशिक्षणविनै अभिनय गर्दा के नपुगेजस्तो लाग्थ्यो”, उनले भने, “अब जीवन्त अभिनय गर्ने कला सिकेको छु, कला क्षेत्रमै रमाउँछु ।” नाट्य विधाभित्रका प्राविधिक पक्षबारे जान्न पाउँदा उनी खुसी छन् ।
सांस्कृतिक संस्थान नेपालको आयोजना तथा नारायणी कला मन्दिरको सहआयोजनामा असार ११ देखि सुरु भएको नाट्य प्रशिक्षणमा ३० जना युवाले सहभागिता जनाए । प्रशिक्षण समापन कार्यक्रममा बोल्दै नाट्यकर्मी पुष्प आचार्यले नाट्यकर्म नरोक्न आग्रह गरे । “हामीले मात्रै नाट्यकर्म गर्ने होइन”, उनले भने, “नाटकमा समन्वय आवश्यक हुन्छ, नयाँ पुस्ता अब भित्रिनुपर्छ ।” उनले प्रशिक्षणले चितवनलाई कलाको क्षेत्रमा अब्बल बनाउने बताउँछन् ।
चरित्र अभिनेता ऋिद्धिचरण श्रेष्ठ निरन्तर कला क्षेत्रमा लागे सफल बनिने बताउँछन् । “पुस्तौँदेखि कला क्षेत्रमा लागेको मैले देखेको छुँ”, उनले नाट्य प्रशिक्षार्थीलाई लक्षित गर्दै भने, “नाटक एक कार्यक्रममा देखाएर रोक्नुहँुदैन, धेरै अभ्यासले बनेको नाटकलाई निरन्तर प्रस्तुत गरिरहनुपर्छ ।” कलाकारको जिज्ञाशा मरेर जान नदिन नाटकमञ्चन कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बताए ।
मुख्य प्रशिक्षक नाट्यकर्मी नरेन्द्र बरालले छोटो तालिम भएपनि नाट्य क्षेत्रमा लाग्न सहयोगी तालिम भएको बताए । “मैले कोइला छाडेको छु, आगो बाल्ने वा खरानी बनाउने तपाईंरुको जिम्मा हो”, उनले नाट्य क्षेत्रमा अभिरुचि राख्ने युवालाई लक्षित गर्दै भने, “चितवनमा कलाकार खोज्दै आउने क्षेत्र बनोस् ।” नारायणी कला मन्दिरका सल्लाहकार विनय श्रेष्ठले कला मन्दिर नाच्ने गाउने मात्रै ठाउँ नभई कलाकार जन्माउने थलो रहेको बताए ।
नारायणी कला मन्दिरका कार्यवाहक अध्यक्ष अमरदेव प्रधान १५ दिने तालिम लिएका युवालाई अवसर तथा क्षमता विकासमा सघाउने बताउँछन् । “हामी एकेडमीका रुपमा कला मन्दिरलाई विकास गर्नुपर्छ भनेर लागेका छौँ”, उनले भने, “नाटक मञ्चन मात्रै होइन, नयाँ प्रतिभाको खोजि गर्न तालिमलाई पनि निरन्तरता दिने छौँ ।”