भरतपुर,२७ असार ।
चितवनको कालीखोलामा खसेको पहिरोमा परेर ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरीका परिवारलाई विभिन्न क्षेत्रबाट राहत उपलब्ध गराइएको छ ।
रातिको समयमा पहिरो पन्छाएर कार्यालयतर्फ फर्कने क्रममा यही असार ९ गते बिहान इलाका प्रहरी कार्यालय, मुग्लिङका चारजना प्रहरीलाई पहिरोले बगाएको थियो । तीनजनाको शव भेटिएको छ भने अर्का एकजना अझै बेपत्ता छन् । उनीहरूका परिवारलाई विभिन्न संघसंस्था, व्यक्ति तथा प्रहरीहरूबाट संकलित रु. पाँच लाख रकम राहतस्वरूप उपलब्ध गराइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
उनका अनुसार प्रहरीहरूबाट संकलित रकम जनही रु. ३० हजारका दरले रु. एक लाख २० हजार, इच्छाकामना गाउँपालिकाकोतर्फबाट जनही रु. २० हजारका दरले रु. ८० हजार तथा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागार्इंबाट जनही रु. २५ हजारका दरले रु. एक लाख उनीहरूका परिवारलाई उपलब्ध गराइएको छ ।
त्यस्तै नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घ चितवनका अध्यक्ष बाबुराम अधिकारीबाट जनही रु. २५ हजारका दरले रु. एक लाख र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीबाट जनही रु.२५ हजारका दरले एक लाख रकम उपलब्ध गराइएको पनि प्रहरी उपरीक्षक थापाले जानकारी दिए । इलाका प्रहरी कार्यालय, मुग्लिङका प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवानहरू दीपक मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङलाई उक्त पहिरोले बगाएको थियो । चारजनामध्ये तीनजनाको शव फेला परेको थियो भने सन्दीप कार्की अझै बेपत्ता छन् ।