रत्ननगर,२७ असाार ।
उद्योग वाणिज्य महासंघले पछिल्लोपटक ल्याएको विधानमा चितवनका व्यवसायीको विमति देखिएको छ । विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई आगामी कार्यकालमा सिधै अध्यक्ष बनाउने गरी संशोधन गर्ने तयारी गर्दा यहाँका व्यवसायीले विरोध जनाए । त्यसको हद तोडफोडसम्म लम्बियो ।
रत्ननगर उद्योग वाणिज्य संघको सोमबार भएको साधारणसभामा यही विषयमा तोडफोडसम्म भएको छ । विधान संशोधनको विपक्षमा रहेका केही व्यवसायीले साधारणसभाको हलमा होहल्ला गरे, तोडफोड गरे । विधान मस्यौदा समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले संशोधन प्रस्ताव पारित भएको घोषणा गरेलगत्तै असन्तुष्ट व्यवसायी भौतिक तोडफोडमा उत्रिए ।
उनीहरुले साधारणसभाको मञ्च फुटाए । प्रहरीका अनुसार उनीहरुले मञ्च भत्काउनुका साथै टेबल, कुर्सीसमेत तोडफोड गरेका छन् । व्यवसायीले १८ औं साधारणसभा तथा अधिवेशन लेखेको संघको मूल व्यानरसमेत च्यातेका छन् । तीन प्रमुख दल निकट व्यवसायीले एक हप्ताअघि अर्को अधिवेशनबाट वरिष्ट उपाध्यक्ष स्वतः अध्यक्ष हुने र अहिलेकै अधिवेशनबाट एशोसिएट उपाध्यक्ष थप गर्ने गरी विधान संशोधन गर्ने सहमति गरेका थिए ।
यदि उनीहरुको सहमतिअनुसार भएको भए वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष राजाराम रेग्मी सहमतिका आधारमा अध्यक्ष बन्ने आधार पनि बन्ने थियो । त्यसको केही व्यवसायीले विरोध गर्दै निर्वाचनका आधारमा नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग गरेका छन् । असन्तुष्ट व्यवसायीहरुले एशोसिएट उपाध्यक्ष यही अधिवेशनबाट चुन्ने र वरिष्ठ उपाध्यक्ष अर्को अधिवेशनबाट स्वतः अध्यक्ष हुने गरी ल्याइएको विधान संशोधन प्रस्ताव नियम संगत नभएको दावी गरेका छन् । उद्योग वाणिज्य महासंघले यसैपालिबाट विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने नियम बनाएको छ ।
असन्तुष्ट व्यवसायीहरुले सबै पद निर्वाचनमार्फत चयन हुनुपर्ने मागसमेत गरेका छन् । असन्तुष्ट व्यवसायीको तोडफोडपछि विधान संशोधन स्थगित भएको छ । तर, बन्दसत्रमा आर्थिक तथा प्रगति प्रतिवेदन भने पारित भएको छ । विधान संशोधन र निर्वाचन प्रक्रियाका बारेमा सहमति खोज्न साधारणसभाले व्यवसायीहरुको ९ सदस्यीय समिति बनाएको छ । सो समिति र संघको कार्यसमिति बीच सहमति गरेर विधान संशोधन र निर्वाचनको विषयमा टुङग्गो लगाउने जनाइएको छ ।
बक्समा
विकास र समृद्धिका लागि राष्ट्रिय भिजन
धु्रवराज खनाल÷कायाकैरन
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले देश आर्थिकरुपमा समृद्ध बनाउन राष्ट्रिय ‘भिजन’ आवश्यक भएको बताएका छन् । राष्ट्रिय भिजन बनाएर आर्थिक समृृद्धिको बाटोमा हिड्न सके छोटो समयमा मुलुकको विकास गर्न सकिने उनले स्पष्ट पारे ।
रत्ननगर उद्योग वाणिज्य संघको सोमबार भएको १८ औं वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री महराले देशमा राजनीतिक संक्रमणकाल अन्त्य हुन लागेको भन्दै वैज्ञानिक आधारमा मुलुक निर्माण गर्ने बेला भएको वताए । आर्थिक समृद्धिका लागि राज्यको बेग्लै भिजन हुनुपर्ने उनको भनाइ थियो । “हाम्रो मुलुकमा स्रोत साधनको अभाव छैन”, उपप्रधानमन्त्री महराले भने, “राष्ट्रिय भिजन बनाएर ती स्रोत साधनलाई प्रयोग गरेर देश समृद्ध बनाउन सकिन्छ ।”
मन्त्री महराले संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धिको बाटोमा सबै दलहरु जुट्नुपर्ने औंल्याए । राज्यको तीनखम्बे नीतिअनुसार नै मुलुकलाई समृृद्ध बनाउन सकिने हुँदा मुलुकलाई समृद्ध बनाउने अभियानमा निजी क्षेत्रलाई मुलुकभित्रै लगानी गरेर थप सहयोग गर्न आग्रह गरे । समृद्ध नेपाल निर्माणका लागि स्थानीयको समेत महत्वपूर्ण भूमिका हुने भएकाले स्थानीय तहलाई नै अधिकार सम्पन्न हुने गरी स्थानीय तहको निर्वाचन गरिएको उनले जानकारी दिए । “स्थानीय तह अधिकारसहितको स्थानीय सरकार हो”, उपप्रधानमन्त्री महराले भने, “बहुआयामिक भूमिका निर्वाह गरेर यहींबाट विकास निर्माण गर्नुपर्छ ।” मुलुकको विकासको आधार नै स्थानीय तह भएकाले विकासको काम पनि स्थानीय तहबाटै सुरु हुने उपप्रधानमन्त्री महराको भनाइ छ ।
सांसद् काशीनाथ अधिकारीले निजी क्षेत्रको सहभागिताविना मुलुक समृद्ध हुन नसक्ने बताए । अहिले आर्थिक वृद्धि दर केही सुधारदेखि पनि ढुक्क हुन सक्ने स्थिति नभएको उनले बताए । “अहिले पनि नेपालको अर्थ र विकासप्रति विश्वका सम्पन्न राष्ट्रहरुले शंका गरिरहेका छन्”, सांसद् अधिकारीले भने, “उनीहरुलाई विश्वास दिलाउने आधार तयार पार्न जरुरी छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले व्यवसायीको सुरक्षाका लागि प्रशासन प्रतिबद्ध रहेको भन्दै कसैलाई धावा बोल्न नदिने बताए । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का संयोजक गुणनिधि तिवारी, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दवाडी, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजन गौतम, नेपाल मत्स्य व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अम्विकाप्रसाद अधिकारी, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला ईञ्चार्ज कृष्ण खनाल, माओवादी केन्द्रका चितवन ईञ्चार्ज ईश्वरी भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, राष्ट्रिय जनमोर्चा पार्टीका डम्बर पुरी, संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । अधिवेशन अध्यक्षसहित ३० सदस्य नयाँ कार्यसमिति चयन गर्दै सकिनेछ ।