कावासोती, १४ भदौ
पूर्वी नवलपरासीमा दुई सातादेखि जारी गरिएकाे निषेधाज्ञालाई सोमबारदेखि खुकुलो पारिएको छ । जिल्लामा दुईसातादेखि बन्द रहेका निजी सवारीसाधन, होटल तथा पसलहरु अब सञ्चालन गर्न पाईने छ । प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले आइतबार जारी गरेको आदेशमा केहि सेवाहरुमाथि लगाइएको प्रतिबन्ध खुला गर्दै केही सेवामाथिको प्रतिबन्ध भने कायमै राखिएको हो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आइतबार रातिदेखि लागि लागू हुनेगरी यसअघि जारी गरिएको आदेश निष्क्रिय गर्दै नयाँ आदेश जारी गरेको हो । आदेशमा खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न, जात्रामहोत्सव, धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, यात्रुबाहक यातायात सञ्चालन गर्न निषेध गरिएकाे उल्लेख गरिएको छ । अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, तरकारी फलफूल, डेरी र माछा मासु पसलहरु, निर्माण सामग्रीका पसल तथा बैंकहरुलाई स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेर मात्रै सेवा प्रवाह गर्न निर्देशन दिईने निर्णय भएकाे आदेशपत्रमा उल्लेख छ ।
त्यस्तै खाद्य सामग्रीका पसलहरु सञ्चालन गर्दा बिक्रेता तथा उपभोक्ताहरुले सेनिटाइजर र मास्कको अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको छ ।