भरतपुर, १४ भदौ
चितवनमा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको छ ।
भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २९ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
भरतपुर महानगरपालिकाका २७ र खैरहनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २१ देखि ८० वर्षसम्मका छन् । भरतपुरका संक्रमितहरु भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र, भरतपुर क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब लिइएकाहरु हुन् । खैरहनीका दुईजना होम क्वारेन्टिनमा छन् ।
त्यसैगरी, अन्य जिल्ला घर भएर चितवनका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका १३ जनामा संक्रमण देखिएको छ । उनीहरु तनहुँ, झापा, नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, वागलुङ र झापाका हुन् ।
तनहुँको देवघाटस्थित क्वारेन्टिनमा रहेका एक जनामा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ ।
चितवनमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६०० नाघेको छ । यहँ उपचररत् ११ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । उनीहरुमध्ये ४ जना चितवनका हुन् ।