भरतपुर, १२ भदौ
ताईवानमा सम्पन्न भएको एसियन किशोरी पावर क्याम्पमा नेपालबाट सहभागी भएका किशोरीहरुले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
अगष्ट २८ र २९ गरी २ दिनसम्म अनलाईन जुम मार्फतबाट सञ्चालन भएको उक्त कार्यक्रममा ८ देशका ७० बढी किशोरीहरू सहभागी रहेकोमा नेपालबाट १४ किशोरीहरु थिए ।
अनलाईन मार्फतबाट सञ्चालन भएको उक्त कार्यक्रममा फरकफरक विषयमा २ दिनसम्म छलफल गरि त्यहाँबाट सिकेका कुराहरुलाई आफ्नो देशमा भोगेका समस्याहरुसित तुलना गरेर आफ्नो प्रस्तुति दिएका थिए ।
तत्पश्चात आइपर्ने समस्याका समाधानको लागि गर्न सकिने कामका बारेमा प्रस्तुति दिएपछि सो स्थान हासिल गर्न सफल भएको कार्यक्रमकी सहभागी किशोरी अभियन्ता निरुता खत्रीले बताईन् ।
एसियामा किशोरीहरुको अवस्था र उनीहरुले भोग्ने गरेका समस्याहरुको बारेमा छलफल गरी त्यसको समाधानको लागि यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष ताईवनामा गार्डेन अप होप फाउण्डेशनले आयोजना गर्ने गरेकोमा हाल कोभिड १९ को कारणले गर्दा अनलाईनबाट सञ्चालन गरिएको थियो ।
नेपालमा जस्तै अन्य देशहरुमा पनि किशोरीमाथी हिंसा, दुर्व्यवहार र शोषण हुने गरेको र सहभागीले सोको जानकारी कार्यक्रम मार्फत दिएको र यसका लागि सरोकारवाला निकायहरुले आवाज उठाउनुपर्ने र सबै देशको साझा समस्या रहेकोले समाधान गर्न सके मात्र किशोरीहरु सुरक्षित रहने कार्यक्रमकी सहभागी आशा विकले बताईन् ।
विजेता समूहले सेप्टेम्बर १ मा हुने अन्तर्वार्तामा सहभागिता जनाउने र सो अन्तर्वार्तामा समेत छनौट भएमा किशोरीहरुको अधिकार संरक्षण र सम्बर्द्धनमा काम गर्नको लागि १ हजार ५०० अमेरीकी डलर समेत पाउने आयोजकले बताएको छ ।
नेपालबाट सहभागी सबै १४ किशोरीलाई जागृति वाल तथा युवा सरोकार नेपालले समन्वय र सहजीकरण गरी कार्यक्रममा सहभागी गराएको संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बताए ।