भरतपुर, १३ भदौ ।
शनिबार बिहान मात्रै चितवनमा थप एक जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएकी छिन् । संक्रमितको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका – ५ की ४९ वर्षीया महिला रहेकी छिन् ।
शिक्षण अस्पतालमा शुक्रबार बिहान मात्रै पनि एकजना संक्रमितको निधन भएको थियो । चितवनमा शुक्रबार मात्रै तीनजना संक्रमितको ज्यान गएको थियो ।
मकवानपुर हेटौंडाकी मृतक महिलामा मिर्गौलासम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ । उनी डायलसिस गर्नका लागि साउन २७ गते चितवन मेडिकल कलेज गएकी थिइन् । उनको तीन पटकसम्म डायलसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालमा अहिले पनि ४१ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । तीमध्ये १९ जनाको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।
चितवनमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । तीमध्ये चारजना चितवनका हुन् । भरतपुरमा मृत्यु हुने संक्रमितमध्ये तीनजना हेटौंडाका छन् । बारासहित, गोरखा र कैलालीका एक एकजना व्यक्तिको पनि संक्रमण देखिएपछि उपचारकै क्रममा भरतपुरमा ज्यान गएको थियो ।
भरतपुर अस्पतालबाट प्राप्त अध्यावधिक विवरणअनुसार शनिबार साँझसम्म चितवनमा संक्रमितको संख्या ५३० नाघेको छ । तीमध्ये १२८ जना निको भएका छन् ।