चितवन, २६ असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको सामुदायिक माछा दाना उद्योगको शिलान्यास गर्नुभएको छ ।
रत्ननगर नगरपालिका–१६ स्थित रायमाझी टोलमा स्थापना गर्न लागिएको उक्त उद्योगको बारेमा उहाँले जानकारी लिनुभएको थियो । चितवन सामुदायिक माछा दाना उद्योग प्रालिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले सरकारको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रमअन्तर्गत नेपालकै नमूना दाना उद्योग स्थापना गर्न लागिएको जानकारी गराउनुभयो ।
उहाँले सरकारले दिने भनेको रु दुई करोड ५० लाख अझै आउन नसकेको भन्दै मन्त्री महराको ध्यानाकर्षण गराउनुभयो । मन्त्री महराले २५ गतेपछि रकम निकासामा समस्या हुने भन्दै आगामी आर्थिक वर्षमा निकासा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
आगामी एक वर्षभित्रमा निर्माण गरिसक्ने लक्ष्यसहित उद्योग निर्माणको शुरुवात गरिएको छ । उक्त उद्योगको क्षमता प्रतिघण्टा पाँच टन दाना निकाल्ने रहेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो ।
अहिलेसम्म ४१ जनाबाट रु १०÷१० लाखको सेयर हालिएको छ । चितवनसहित नवलपरासी, रुपन्देही, मकवानपुर र बाराका माछा किसानले समेत उद्योगमा सेयर हालेका छन् ।
हाल नेपालमा माछाको दाना स्थानीय कच्चापदार्थबाट उत्पादन हुँदै आएको छ भने भारतबाट समेत ठूलो परिमाणमा आयात हुँदै आएको छ ।
रत्ननगरमा दानाको उत्पादन हुन थालेपछि भने नेपाली माछापालक किसानका लागि ठूलो राहत मिल्ने जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत परशुराम यादवले बताउनुभयो । रासस