भरतपुर, १२ भदौ ।
कालिका नगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । नगरपालिकाभित्र पाँच जनामा कोरोना संक्रमण देखिएको थियो । ती सबै संक्रमित निको भई घर फर्किसकेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपीले बताए । स्थायी ठेगाना कालिका ६ भए पनि एक जना प्रहरीलाई काठमाडौंमा कोरोना पुष्टि भएको थियो । चितवनस्थित घर आएर काठमाडौं फर्किएपछि उनको स्वाब परीक्षण गरिएकोमा उतै कोरोना संक्रमण पुष्टि भएको मेयर श्रेष्ठले बताए । चितवन घर आएका बेला उनको सम्पर्कमा झन्डै ५० जना रहेका थिए ।
उनीसँग सम्पर्कमा रहेका ४४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको कालिका नगरपालिका वडा नं ६ का अध्यक्ष बिनोद रेग्मीले जानकारी दिए । ती प्रहरीको घर रहेको टोल नै सिल गरेर सम्पर्कमा रहेकाको पहिचान गरी परीक्षण गरिएको थियो । कालिका नगरपालिकामा पहिलो पटक जेठ महिनामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म कालिका नगरपालिकाका ३२५ जनाको कोरोना परीक्षण गरिसकिएको छ ।