भरतपुर, १२ भदौ
चितवनमा जारी निषेधाज्ञा एक साता थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (शुक्रबार) बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।
यसपालि जारी भएको निषेधाज्ञा बैंक तथा वित्तीय संस्थाका लागि केही खुकुलो गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्था सर्तसहित खोल्न पाइनेछ ।
बैंक तथा वित्तीय संस्था (मनी ट्रान्सफर र सहकारीसमेत) बिहान १० देखि दिउँसो १ बजेसम्म खोल्न पाइने छ । तर, त्यसमा सर्त लागू हुनेछ । ती संस्थामा बढीमा ५० प्रतिशत मात्रै कर्मचारी उपस्थित हुन पाउनेछन् भने बैंकको काउन्टर सञ्चालन गर्दा सेवा प्रवाहको कोटा निर्धारण तथा टोकन प्रणाली लागू गरी आवश्यक भिड नियन्त्रण गर्ने र स्वास्थ्यसम्बन्धी न्यूनतम मापदण्डको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।
त्यस्तै सरकारी कार्यालयहरु पनि आन्तरिक कामको लागि खोल्न पाइने भएको छ । तर, त्यहाँ पनि बढीमा ५० प्रतिशत मात्रै कर्मचारी उपस्थित हुन पाइने छ । त्यहाँ सर्वसाधारण भने उपस्थित हुन पाउने छैनन् ।
सरकारी कार्यालय तथा बैंकका कर्मचारीहरुले ड्युटी रोष्टर अनिवार्य बोक्नुपर्ने सूचनामा उल्लेख छ ।