भरतपुर, १२ भदौ
चितवनमा जारी निषेधाज्ञा एक साता थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (शुक्रबार) बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न निषेधाज्ञालाई निरन्तरता दिन आवश्यक देखिएको जिल्ला प्रशासन कार्यालयको ठहर छ । जिल्लामा आजै मात्रै ३ जनाको कारोनाको कारण मुत्यु भएको छ ।
संक्रमण हुनेको संख्या बढेको र समुदायमा कम सचेतना देखेपछि निषेधाज्ञा एक साता थप भएको चितवन प्रशासनले जनाएको छ ।
चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरी भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो भने साउन ३२ रातिदेखि भदौ ५ गतेसम्मका लागि माडी नगरपालिकाबाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो ।
प्रशासनले भदौ ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो । अब तेस्रो चरणको निषेधाज्ञा आगामी भदौ १९ गते राति १२ बजेसम्म जारी रहनेछ ।