देवचुली, ११ भदौ ।
कोरोना पोजिटिभ देखिइहालेमा पनि आफूभित्र सकरात्मक सोचको विकास गरि आत्मबल बढाएमा त्यसलाई सजिलै परास्त गर्न सकिने कोरोना सक्रंमित किशोरी गरिमा पोख्रेलले बताएकी छन् ।
जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकाका किशोरीहरुसँगको अन्तरक्रिया र छलफल कार्यक्रममा १४ वर्षीया किशोरी पोख्रेलले यो धारणा राखेकी हुन् ।
`कोरोना पोजिटिभ देखिएपछी एकदमै डर लाग्ने र केही समस्याहरु हुन्छन् की भन्ने हुन्थ्यो, पोख्रेलले भनिन् – `तर यसको उत्तम उपाय भनेको त पहिला आफू सुरक्षित हुनु नै हो ।´ `यदी संक्रमण देखिइहालेमा त्यसको उपचार भनेको नै आफ्नो स्वास्थ्यको हेरचाह गर्ने र मनमा साहस राखेर सकरात्मक भावनाको विकास गर्नु नै हो-´ उनले थपिन् ।
कावासोती निवासी पोख्रेल कोरोना पोजिटिभ पुष्टि भएपश्चात देवचुलीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा स्वास्थ्य लाभ गरिरहेकी छन् । उनले सोही अस्पतालको आइसोलेसनबाट भर्चुअल संवादमा जोडिँदै उक्त आईसोलेसन किशोरीमैत्री र बालमैत्री समेत रहेको बताइन् । उक्त अस्पतालमा अहिले कोरोना संक्रमितलाई प्राकृतिक विधिबाट उपचार गर्नुका साथै नियमितरुपमा खेलकुद, ध्यान, मेडिटेसन र नाचगानको समेत व्यवस्था गरिएको छ । यी खाले सुबिधाले अहिले आइसोलेसनमा बसेका कसैलाई पनि मानसिकरुपमा केही समस्या नरहेको पोख्रेलले बताइन् ।
सोही कार्यक्रममार्फत कोरोना सक्रंमित भै प्राकृतिक चिकित्सालयमा उपचार गराइरहेका पत्रकार रमेश बस्ताकोटीले कोरोना भाइरसको संक्रमण जो कसैलाई पनि हुनसक्ने भएकोले सवैभन्दा महत्त्वपूर्ण सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र सावुनपानीले हात धुन सुझाव दिए । बाहिर निस्कनै परे जनसम्पर्कबाट टाढै रहने, कसैलाई भेट्नै परे दूरी कायम राख्ने सके पनि यसको संक्रमणबाट जोगिन सकिने बस्ताकोटीले बताए ।
सामाजिकरुपमा अहिले सक्रंमितलाई हेयभावले जसरी हेरिएको छ, त्यसो नगर्नको लागि किशोरीहरुले आफ्नो घरबाट नै यसको अभियानहरु सुरु गर्ने र सोही अनुसार नै घरका सदस्यहरु र वरीपरिकालाई पनि सिकाउनको लागि विभिन्न अभियानहरु सुरु गर्न सकिने कुरा बस्ताकोटीले बताए ।
- जागृति तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्ड अन्तर्गतका साथी शिक्षकहरुको क्षमता अभिबृद्धीको लागि यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ४५ जना किशोरी, संस्थाका कार्यसमिति पदाधिकारी, सल्लाहकार एवम् अन्य गरी ५५ जनाको सहभागिता रहेको थियो ।