भरतपुर, ११ भदौ
चितवनमा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका भित्रका मात्रै १४ जना छन् । रत्ननगर नगरपालिका वडा नम्बर ४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन् । उनीहरु रत्ननगरका क्वारेन्टिनमा रहेका थिए ।
यसअघि लामो समय संक्रमण शून्य भएको माडी नगरपालिकामा फेरि ९ जना कोरोना पोजेटिभ देखिएको छ । माडीमा ५ महिने बालक पनि छन् । वडा नम्बर ६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । उनीहरु सबै क्वारेन्टिनमा छन् ।
पहिलो चरणको लकडाउनको अवधिमा माडीमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो । लकडाउन खुलेपछि पहिलोपटक संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, भरतपुरका २ जना र तनहुँका एक जनामा कोरोना पोजेटिभ देखिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । उनीहरुमध्ये एक जनाले क्यान्सर अस्पताल भरतपुर र अर्काले रत्ननगरबाट स्वाब दिएका थिए ।
तनहुँको देवघाट गाउँपालिकाका ५१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।
प्रयोगशालाका इन्चार्ज डा.नविनकुमार चौधरीकाअनुसार भरतपुर महानगरका १६ जनामा संक्रमण पुष्टि भएको छ । रत्ननगरका ४, नवलपुरका ३, सर्लाहीका २ र तनहुँका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु १४ देखि ५३ वर्षसम्मका छन् ।