विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२५ असाार।
भरतपुर–शारदानगर सडक निर्माण आयोजनामा दोस्रोपटक म्याद थपको तयारी भएको छ । सम्झौताअनुसार दुई वर्षभित्र निर्माण भइसक्नुपर्ने सो सडक अढाइ वर्षमा मुस्किलले आधा काम सकिएको छ । फेरि ६ महिना थप गरेर आगामी डिसेम्बरसम्म यो काम सक्ने भनिएको छ ।
पछिल्लोपटक थपिएको म्यादअनुसार यो काम जुन ३०(असार १६ गते) सम्म सक्नुपर्ने थियो । तर, यो समयमा आधा काम पनि पूरा नभएपछि दोस्रोपटक म्याद थपको तयारी भएको छ । सडक विभागअन्तर्गतको सडक सुधार आयोजनामार्फत यो सडक बन्न लागेको हो । भारतीय एक्जिम बैंकको ११ करोड रुपैयाँ सहुलियत ऋणमा सडक निर्माणको काम थालिएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्रकुमार झाले पुस १६ गतेसम्म निर्माण सक्ने गरी म्याद थप गर्न निर्माण व्यवसायीले माग गरेको बताए । “परामर्शदाताले निर्माण व्यवसायीको मागअनुसार म्याद थप गर्न सुझाव दिएका छन्”, उनले भने, “म्याद थप गर्न सडक विभागले चाँडै प्रस्ताव स्वीकृत गर्दैछ ।”
उनका अनुसार १२ किलोमिटर सडक निर्माणको काम मध्ये झण्डै साढे दुई वर्षमा ५० प्रतिशत मात्रै काम सकिएको छ । “६ किमि सडक कालोपत्रे भैसकेको छ, १ किमि जति बेस तयार भएको छ”, उनले भने, “२ किमि सडकमा ग्राबेल राख्ने काम भएको छ ।” ठेक्का सम्झौता अनुसार सो सडकमा देखिएका खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिइएको बताए । “रामपुरदेखि शारदानगरसम्मको सडकमा थुप्रै खाल्डाखुल्डी छन्”, उनले भने, “दुई दिन यता बल्ल मर्मतको काम सुरु भएको छ ।”
शैलुन कन्सक्ट्रसन प्रा.लि (एस.सि.सि.पि.एल) र भारतीय कम्पनी अरावली ईन्फ्रापावर (ए.आई.पि.एल) ले संयुक्त रुपमा निर्माणको जिम्मा लिएका थिए । सुरुमा साढे ५ मीटर चौडा सडक बनाउने गरी सम्झौता भएको थियो । स्थानीयको चर्को दबाब पछि डिजाइन परिवर्तन गरी ७ मीटर पीच निर्माण गर्ने गरी सम्झौता संसोधन भएको थियो । पटक पटकको जनगुनासो पछि पछिल्लो समय सडकको दायाँबायाँ (सोल्जर) तर्फ गरी १ मीटर चौडा पीच थप भएपछि ८ मीटरको पीचको काम अघि बढेको थियो । सुरुको सम्झौता अनुसार सडक चनौली बजारसम्म निर्माण हुने उल्लेख थियो । तर, सडक चौडा बढी भएपछि १२ किमि मात्रै निर्माण हुने भएको हो ।
पुरानो पीच भत्काएर नयाँ पीच निर्माण गरिने छ । सुरुको सम्झौताहुदा ८ महिना वित्दासमेत सडक सर्भेको काम भएको थिएन । निर्माण कम्पनीका प्रतिनिधि सुदन गौलीले परिस्थितिका कारण निर्धारित समयमा काम पुरा नभएको बताए । “सम्झौता बमोजिम काम नगरेको होइन”, उनले भने, “भूकम्प, नाकाबन्दीले झण्डै आधावर्ष असर ग¥यो, काम गर्र्नै सकेनौँ, डिजाइन हेरफेर हुदा पनि काम गर्न कठिन भयो ।” उनका अनुसार सो सडकखण्डमध्ये ४ सय मीटर सडक निर्माणमा स्थानीयलेनै अवरोध गरेको बताए ।
“काम गर्दैजाँदा रामपुर बजारमा सडक सीमाबारे विवाद उब्जियो”, उनले भने, “विभागमा गुनासो गरेपछि नापी कार्यालयलाई नापजाँच गर्न सडक विभागले निर्देशन ग¥यो, तर अहिलेसम्म नापजाँच भएको छैन ।” उनका अनुसार १२ किमि सडक मध्ये ६ किमि सडक कालोपत्रे भैसकेको छ । ६ किमि देखि ९.८ किमि सडकसम्म ग्रोबल राख्ने, बेस तयार गर्ने काम भएको बताए । १२ किमि देखि १०.२ किमिसम्मको सडकमा ग्राबेल राखिएको बताए । “थपिने म्यादमा काम पुरा गर्नेछौँ”, उनले भने, “कच्चा पदार्थ अभाव नहोस् भनेर मौजाद अवस्थामा राखिएको बताए । वर्षायाम सुरु भएकाले कालोपत्रे गर्ने काम रोकिएको उनले जानकारी दिए ।
चनौलीसम्म कालोपत्रे चाँडैः सांसद् घिमिरे
भरतपुरदेखि चनौलीसम्मको सडक स्तरोन्नती आशमा बसेका स्थानीय सडक छोट्टिएपछि निराश बनेका छन् । शारदानगर हेल्थपोष्ट देखि चनौली सडक खण्डमा थुप्रै खाल्डाखुल्डी छन् । हिउदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गर्छ ।
छेउछाउका पसल व्यवसाय समेत आजित छन् । गुञ्जानगरमा स्थानीय अगुवा सोमप्रसाद भण्डारी शारदानगर देखि चनौली सडक निर्माण गरिनुपर्ने बताउँछन् । “सुरुमा आशा देखाइयो, पछि सडक छोट्टाइयो”, उनले भने, “वर्षौंसम्म धुलाम्मे, हिलाम्मे सडकको सामाना गर्न नपरोस् ।”
तत्कालिन निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद रामकृष्ण घिमिरे चनौलीसम्मको सडक चाँडै स्तरोन्नती हुने बताउँछन् । “सडक सुधार आयोजना मार्फत बन्न लागेको सडक छोट्टाएपनि हामी जनतालाई निराश पार्ने पक्षमा छैनौँ”, उनले भने, “रातो किताबमा योजना परिसकेको छ”, उनले भने, “निर्माण प्रक्रिया सुरु गर्न सडक विभाग तथा मन्त्रालयलाई पटक पटक अनुरोध गरेका छौँ ।”
उनले निर्माणाधिन सडक समेत सुस्त गतिमा काम भएकोमा असन्तुष्ट व्यक्त गरे । “भरतपुर–शारदानगर बाटोबारे बुझ्न केहि वर्ष मुल ठेकेदार भेट्नै गाह्रो प¥यो”, उनले भने, “रिप आयोजना हेर्न गरी सडक डिभिजन कार्यालय भरतपुरमै जिम्मेवारी ल्याएपछि केहि सहज भएको छ, तर काम चित्त बुझ्दो भएन ।” विगतमा सडक सुधार आयोजनको सडक अनुगमनको काम वर्दिबासमा रहेको रिप कार्यालयले हेर्ने व्यवस्था थियो ।
काम नगर्ने ठेकेदारलाई पक्रन समेत स्थानीय प्रशासनलाई अनुरोध गरेको स्मरण गर्दै भने, “खाल्डाखुल्डी पुर्ने सम्मका काम नहुँदा हामीले ध्यानाकर्षण गराएका थियौँ, चाडो काम गर्न केन्द्रीयस्तरबाटै दबाब दिनेछौँ ।” भरतपुर हुँदै रामपुरहुँदै चनौली रुटमा चल्ने सार्वजनिक सवारीले केहि पहिले सडक निर्माणमा ढिलाई भएको भन्दै सवारीनै बन्द गरी आन्दोलना समेत उत्रिएका थिए । यही सडक छेउमा रामपुर कृषि क्याप्स पर्छ । कांग्रेस सभापति स्वगीय सुशील कोइरालाले यही क्षेत्रबाट चुनाव जितेका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्ला समेत हो । तर, यो सडक लामो समयदेखि सुधार हुन सकेको छैन ।