भरतपुर, १० भदौ
चितवनमा मंगलबार मध्यराती ४४ जना कोरोना संक्रमितहरु थपिएका छन् । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीकाअनुसार संक्रमण पुष्टि भएका मध्ये ४० जना चितवन ठेगाना भएका मात्रै छन् । बाँकी ४ जना नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका छन् । अन्य जिल्ला ठेगाना भएकाहरुको स्वाब पनि भरतपुरकै अस्पतालहरुबाट संकलन गरिएको हो ।
प्रयोगशालामा मंगलबार राती गरिएको परीक्षणका क्रममा ५ वर्षीय बालक र ८ वर्षीया बालिकासहित ४४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ७१ वर्षीया वृद्धा पनि छन् ।
नयाँ संक्रमितहरुमध्ये ३६ जना भरतपुर महानगरपालिकाका छन् । उनीहरुको स्वाबको नमूना भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट लिइएको थियो । रत्ननगर नगरपालिकाका ३ जना र खैरहनी–१ का एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको स्वाब संकलन पुरानो मेडिकल कलेज, रत्ननगरस्थित क्वारेन्टिन र भरतपुर अस्पतालबाट संकलन गरिएको थियो ।
अस्पतालका स्वास्थ्यकर्मी तथा बिरामीहरुमा कोरोना संक्रमण बढेपछि यहाँका अस्पतालहरुले बिरामीलाई भर्ना गर्नुअघि कोरोना परीक्षण अनिवार्य गर्न थालेका छन् ।
मंगलबार २ सय १८ जनाको नमूना परीक्षण गरिएको थियो । चितवनमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ ।