भरतपुर, ९ भदौ ।
इंगल्याण्डका तीव्र गतिका बलर जेम्स एण्डरसन टेष्ट क्रिकेटको इतिहासमा ६०० विकेट लिने चौँथो खेलाडी बनेका छन् । जारी आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत पाकिस्तान विरुद्धको तेश्रो टेष्टको दोश्रो पारीमा पाकिस्तानका कप्तान अजहर अलीलाई आउट पार्दै उनले सो उपलब्धि हात पारेका हुन् । एण्डरसन ६०० विकेट पूरा गर्ने पहिलो तीव्र गतिका बलर समेत बनेका छन् । यसअघि श्रीलंकाका मुथैया मुरलीधरन, अष्ट्रेलियाका शेन वार्न र भारतका अनिल कुम्ब्लेले मात्रै टेष्ट करियरमा ६०० या सो भन्दा बढी विकेट हात पारेका थिए । यी तीनै बलर स्पीनर थिए । यस्तै, एण्डरसन यस्तो उपलब्धि हासिल गर्ने पहिलो इंग्लिस बलर पनि बनेका छन् । उनलाई अर्का तीव्र गतिका बलर स्टुअर्ट बोर्डले ५१४ विकेट सहित पछ्याइरहेका छन् ।
६०० विकेट पूरा गर्न लगाएको समयको हिसाबमा भने एण्डरसनले भारतका अनिल कुम्ब्लेलाई उछिनेका छन् । कुम्ब्लेले पहिलो टेष्ट खेलेको १७ वर्ष १६० दिन पछि सो उपलब्धि हात पारेका थिए । एण्डरसनले उक्त उपलब्धि हात पार्न १७ वर्ष ९३ दिन लगाएका हुन् । यस्तै कम टेष्टमा ६०० विकेट लिने सन्दर्भमा भने एण्डरसन चौँथो स्थानमा रहेका छन् । उनले १५६औँ टेष्टमा ६००औँ विकेट हात पार्न सफल भएका हुन् । जबकि मुरलीधरन (१०१), कुम्ब्ले (१२४) र वार्नले (१२६) उनीभन्दा कम टेष्ट लिएका थिए ।
३८ वर्षीय तीव्र गतिका बलर एण्डरसनले आफ्नो टेष्ट करियरमा कूल २९ पटक पारीमा पाँच वा सोभन्दा बढी विकेट लिएका छन् । यस्तै उनको नाममा टेष्टमा कूल तीन वटा १० विकेटको हाउल पनि रहेको छ । उनले एउटा पारीमा ७/४२ को सर्वश्रेष्ठ बलिङ प्रदर्शन दर्ता गरेका छन् ।
एण्डरसनले आफ्नो टेष्ट करियरमा भारतविरुद्ध सर्वाधिक विकेट लिएका छन् । भारत विरुद्ध २७ टेष्टमा ११० विकेट लिएका उनले अष्ट्रेलिया विरुद्ध ३२ टेष्टमा १०४ विकेट हात पारेका छन् । यस्तै उनले दक्षिण अफ्रिका विरुद्ध ९३, वेष्ट इण्डिज विरुद्ध ८७ र पाकिस्तान विरुद्ध ७४ विकेट लिएका छन् । उनले बंगलादेश र जिम्बाब्वे विरुद्ध भने जम्मा दुई–दुई वटा टेष्ट खेलेका थिए । बंगलादेश विरुद्ध जम्मा ९ विकेट लिएका उनले जिम्बाब्वे विरुद्ध भने ११ विकेट हात पारेका छन् ।