भरतपुर, ९ भदौ
नजिकिँदै गरेका चाडबाडलाई लक्षित गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ ।
सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड नजिकै आएका छन्, उडान त खोल्नु परिहाल्छ, मंगलबार मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा उनले भने, तर तराईमा तत्काल खुल्दैन ।
तराईका जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थलको उडान भने अहिले खुल्ने छैन । उडान खुल्ने या नखुल्ने सन्दर्भमा समेत मन्त्रालय आफैंले पनि निर्णय गर्न सक्दैन ।
सोहीकारण पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी उनले दिएका छन् । अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ ।
यस अगाडि मन्त्रालयले केही गन्तब्यमा चार्टर्ड उडानको तालिका सार्वजनिक गर्दैछ । नियमित उडानका लागि यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडानका लागि निवेदन दिएका १३ वटा कम्पनीलाई नै पहिलो चरणमा अनुमति मिल्नेछ ।
सरकारले पीसीआर परीक्षण सहज हुने मुलुकमा मात्र पहिलो चरणमा उडानको अनुमति दिनेछ । अन्य मुलुकमा भने चार्टर्ड जहाज पठाएर नेपालीको उद्धार हुनेछ । १५ भदौपछि अधिकतम प्रतिदिन ५ सय जनाले नेपाल आउने अनुमति पाउनेछन् ।
परिस्थिति सामान्य बन्दै गएपछि यो संख्या क्रमशः बढाइने मन्त्री भट्टराईले जानकारी दिए । ठूलो माग र दवाव आएको छ, संख्या बढाउन, तर परिस्थिति हेरेर मात्र यसमा अर्को निर्णय हुन्छ, उनले भने । नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् ।
हिमाली र पहाडी विमानस्थलबाट आन्तरिक उडान थाल्ने तयारी
हिमाली र पहाडी विमानस्थलबाट आन्तरिक उडान थाल्ने तयारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस