भरतपुर, ८ भदौ ।
चितवनमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालमा सोमबार परीक्षण गरिएका ४०५ मध्ये १७ वटा नमूना पोजिटिभ देखिएका हुन् । संक्रमण पुष्टि हुनेहरूमा भरतपुर महानगरपालिकाका ९ जना रहेका छन् । उनीहरूमध्ये दुई जना पुरुष र बाँकी ७ जना महिला रहेको प्रयोगशालाकी प्रमुख डा. नीता अधिकारीले जानकारी दिइन् । संक्रमितमध्ये भरतपुर महानगरपालिका वडा नं ३ का ५१ वर्षीय पुरुषको पुष्पाञ्जली अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जनाले भने पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका थिए । यस्तै रत्ननगर नगरपालिकाको वडा नं १० की २८ वर्षीया महिला र वडा नं ५ का ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । त्यस्तै राप्ती नगरपालिकाको वडा नं २ र ८ का दुई–दुई जना महिला र पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । अन्य दुई संक्रमित भने मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिकी ३८ वर्षीया महिला र नवलपुर जिल्ला गैंडाकोट नगरपालिकाकी ५२ वर्षीया महिला रहेका छन् ।
योसँगै चितवन जिल्लामा कोरोना संक्रमितको संख्या कूल संख्या ३९० पुगेको छ । यस्तै छिमेकी जिल्ला मकवानपुरमा र नवलपुरमा कोरोना संक्रमितको कूल संख्या क्रमशः ३०८ र ४२३ पुगेको छ ।