भरतपुर, २४ असार ।
प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प चितवन–२०१७ को फाइनलमा ५१ जना बालबालिका प्रतिष्पर्धा गर्ने भएका छन् । बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि होलिडेज क्रियशन होम नारायणगढले आयोजना गरेको प्रतियोगिताको अडिसनबाट ५१ जना छनौट भएका हुन् ।
७ देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन जिल्लाका १८ वटा विद्यालयबाट ८६ जनाले अडिसन दिएका थिए । तीमध्ये १५ वटा विद्यालयका ५१ जना छनौटमा परेको आज नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । छनौट भएका बालबालिकालाई एक महिनासम्म प्रशिक्षण दिई ४ चरणमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भएकोे कार्यक्रम संयोजक लक्ष्मी पन्त ढकालले जानकारी दिइन् ।
आगामी असार २७ गतेबाट तालिम दिइने उनले बताइन् । पहिलो चरणमा बालबालिकाले प्रस्तुत गरेका प्रतिभालाई ध्यानमा राख्दै अब २७ गतेबाट भने प्रशिक्षकको निगरानीमा प्रशिक्षण दिइने उनले बताइन् । स्कूले बालबालिकाको वर्षे विदाको समय मिलाएर कार्यक्रम सञ्चालन गर्न लागिएकोले उल्लेख्य सहभागिता जुटेको संयोजक ढकालले बताइन् । प्रतिभा निखारका लागि ‘प्रोगाम विथ अ परपस’ थिममा आधारित रहेर बालबालिकालाई प्रयोगात्मक परियोजनामा सामेल गराउने र उनीहरुको क्षमता मूल्यांकन गरिने भएकाले प्रत्येक चरण निकै महत्वपूर्ण रहने उनले औल्याइन् ।
उत्कृष्ट छनौट भएकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको लागि अवसर जुटाउनेसमेत उनले जिकिर गरिन् । युरोपियन संस्था ईप्लानेट इभेन्ट अर्गनाइजरसंग सहकार्य गरी लिटल प्रिन्स र लिटल प्रिन्सेस वल्र्ड, लिटल प्रिन्स र लिटल प्रिन्सेस अर्थ र लिटल प्रिन्स र लिटल प्रिन्सेस युनिर्भस २०१७ मा सहभागिताको लागि संयोजनकारी भूमिका रहने उनले बताइन् ।
प्रतियोगिताबाट प्रिन्स च्याम्प र प्रिन्सेस च्याम्प दुवैतर्फ ३–३ जना विजेता छानिने होलिडेज क्रियशन होम नारायणगढका सञ्चालक नारायण ढकालले बताए । दुवैतर्फका विजेतालाई क्रमशः ३० हजार, २० हजार र १५ हजारले पुरस्कृत गरिने उनले बताए । वातावरण संरक्षणको सन्देश फैलाउनका लागि विजेता दुई जनालाई साइकल प्रदान गरिनेसमेत उनले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन प्रत्येक बालबालिकाको प्रवेश शुल्क १५ हजार लिइएको छ । सो शुल्कबाटै उनीहरुलाई विज्ञहरुबाट एक महिने प्रशिक्षण र विभिन्न क्रियाकलापमा सहभागी गराइने ढकालले बताए । छनौट भएका बालबालिकाको उच्चतम प्रतिभा प्रष्फुटनको लागि पारिवारिक वातावरणका लागि अभिभावकलाई समेत अभिमुखीकरण गरिएको छ । अडिसन तथा तालिमका विभिन्न चरण होटल गंगोत्री नारायणगढमा भएको प्रतियोगिताको फाइनल साउन १७ गते नारायणी रिसोर्ट नारायणी नदी किनारमा गर्ने तयारी भएको उनले बताए ।