युइएफए च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले हात पारेको छ ।
लेस्बनमा आइतबार राती भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोलअन्तरले हराउँदै बायर्नले च्याम्पियन्स लिगको उपाधि हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा खेल गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा बायर्नको जितको लागि किङ्ग्सले कोमनले निर्णायक गोल गरे । उनले खेलको ५९ औं मिनेटमा किममिचको पासमा गोल गर्दै बायर्नलाई च्याम्पियन्स लिगको उपाधि सुरक्षित गराए । खेलमा दुबै टिमले पटकपटक गोलका अवसरहरु सिर्जना गरेता पनि सदुपयोग भने गर्न सकेनन् ।
यो सँगै बायर्न म्युनिखले छैटौंपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यसअघि सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा उपाधि जितेको थियो ।