धरान, ७ भदौ ।
धरान उपमहानगरपालिकामा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उपमहानगरपालिकाको वडा नं ८ का ६८ बर्षीय पुरूष रहेका छन् । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको हेल्प डेक्समा स्वाब संकलन गराएका उनमा साउन २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि साउन ३० गतेदेखि प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा उपचार गराइरहेका उनको आज साँझ ६ः३५ बजे मृत्यु भएको प्रतिष्ठान प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
मृतकमा अत्यधिक खोकी लाग्ने, ज्वरो आउने तथा श्वासप्रश्वासमा गडबडी जस्ता समस्या देखिएका देखिएका थिए । उनी उच्च रक्तचाप, मधुमेह तथा श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित दीर्घरोगी समेत रहेको डा. सापकोटाले बताए । मृतक पुरुषमा केही दिन अघि मात्रै प्लाज्मा थेरापी गरिएको थियो । उनको अवस्थामा केही सुधार देखिएको भएपनि शनिबारदेखि पुनः गम्भीर समस्या देखिन थालेका थिए ।
मृतकले धरान १५ मा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनीसँगै धरानमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।