भरतपुर, ७ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६ लाख ४४४ वटा परीक्षण गरिएका छन् । पछिल्लो २४ घन्टामा २८१ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या भने १८ हजार ६३१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार नेपालभर हालसम्म कोभिड१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार हाल देशभर ११४१४ जना क्वारेन्टाइनमा छन् भने १३१५५ जना आइसोलेसनमा छन् ।