७ भदौ ।
युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेलमा आज राति जर्मन जायेन्ट बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्दै छन् । यो खेल पोर्चुगलको लिस्बनमा आज राति नेपाली समयानुसार १२ः४५ बजे सुरु हुनेछ । जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिख छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानका साथ मैदान उत्रँदै छ । उता फ्रान्स लिग वानको विजेता रहेको पिएसजी भने पहिलो पटक युरोपको च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।
सेमिफाइनल खेला फ्रान्सको ओलम्पिक लियोंलाई हराउँदै बायर्न फाइनल पुगेको हो । त्यसअघि बायर्नले नक आउट चरणमा इंग्लण्डको चेल्सी र स्पेनको बार्सिलोना जस्ता नाम चलेका क्लबलाई पाखा लगाउँदै अपराजित यात्रा कायम राखेको थियो । उता ब्राजिलियन स्टार नेयमार रहेको टोली पिएसजीले सेमिफाइनलमा आर.बी. लेप्जीगलाई हराएको थियो । दुवै टोली जारी प्रतियोगितामा अपराजित रहेका छन् । पिएसजीले लिग चरणका सबै ६ खेल जितेको थियो भने बायर्नले पाँचमा जीत र एकमा बराबरीको नतिजा निकालेको थियो । यी दुई टोली च्याम्पियन्स लिगमा कूल ८ पटक अमनेसमने भएका छन् । जसमध्ये पाँच खेलमा पिएसजीले बाजी मारेको छ भने बाँकी तीन खेल बायर्नले जितेको छ ।