भरतपुर, ७ भदौ
चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।
ती महिलाको मृत्यु भएपछि साँझ रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो । तर रिपोर्ट नआउँदै मृत्यु भएको हो ।
कलेजो सम्बन्धी उपचारका लागि ती महिलालाई साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । यस्तै सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौंडाका ७५ वर्षीय पुरुषमा पनि शनिबार विहानमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।