भरतपुर, २४ असार ।
देवघाटस्थित महेश संन्यास आश्रमका संस्थापक पीठाधीश डा. रामानन्द गिरीको देहावसान भएको छ । लामो समयदेखि निमोनिया र दम रोगका कारण थलिएका उनको शनिबार काठमाडौंमा निधन भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
पछिल्लो एक महिनादेखि स्वास्थ्य अवस्था राम्रो नभएपछि काठमाडौंको ग्रान्डी हस्पिटलमा उपचाररत गिरीले शनिबार काठमान्डौंको पशुपतीदेवपत्तनस्थित शंकराचार्य मठमा देहत्याग गरेको पौडेलले जानकारी दिए । पूर्वीय वाङ्मयका एक अविश्रान्त साधक, संस्कृत शिक्षाका एक महाअभियान्ताका रुपमा उनी देशविदेशमा परिचित थिए । “संस्कृतमा उनीजस्ता प्रखर विद्वान अरु कोही छैनन्”, पौडेलले भने, “देशले निकै ठूलो निधि गुमाएको छ ।”
पछिल्लो समय उनी देवघाटमा संस्कृत विश्वविद्यालय बनाउनुपर्छ भनेर लागेका थिए । “त्यसको लागि क्षेत्र विकास समितिले करिब १ करोडको जग्गासमेत उपलब्ध गराइसकेको थियो”, अध्यक्ष पौडेलले भने, “उहाँको अभियान पूरा गर्न पाउनुभएन ।”