कायाकैरन, ६ भदौ ।
कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–१५ बस्ने ६७ वर्षीय एक पुरुषको शनिबार मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा बिहान साढे ११ बजे उनको मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाका अनुसार उच्च ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत साउन २७ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार यसअघि धरान तीनकुनेस्थित प्रिति भल्ब उद्योगमा कार्यरत संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएका मध्ये मृतक पनि हुन् ।
कन्ट्याक ट्रेसिङ गरेर स्वाब संकलन गरी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा मृतकमा पनि कोरोना पुष्टि भएको मेहताले जानकारी दिए । धरानमा हालसम्म कोरोना संक्रमणका कारण दुई जनाले ज्यान गुमाइसकेका छन् । यसअघि धरान–१५ कै एक वृद्धाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।
स्रोतः रेडियो कान्तिपुर