भरतपुर, ६ भदौ
रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल भएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको पछिल्लोपल्टको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
भरतपुर अस्पतालबाट स्वाब दिएका डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा.बगालेलाई १२ दिनअघि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि घरकै आइसोलेसनमा बसेका थिए ।
कार्य क्षेत्रमै खटिएका बेलामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर, उनीसँगै होम आइसोलेसनमा रहेकी उनकी पत्नीको रिपोर्ट भने अझै पोजिटिभ देखिएको छ । आइसोलेसनमै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ ।
डा. बगालेले कोरोना भगाउन कुनै औषधि प्रयोग नगरेको र घरेलु विधिबाटै निको भएको जनाएका छन् । “घरमै आइसोलेसनमा बसेको १२ दिनपछिको रिपोर्ट नेगेटिभ आएको छ”, उनले फेसबुकमा लेखेका छन्, “स्वास्थ्यमा खासै समस्या नभएकोले घरेलु विधि अपनाइयो, औषधि जरुरी परेन ।”
कायाकैरनसँगको कुराकानीमा उनले घरेलु विधिबारे बताएका छन् । “तातोपानीको बाफ दैनिक २–३ पटक लिन्थ्यौँ, कागती प्रसस्तै खाइयो”, उनले भने, “तातोपानीमा बेसार र गुर्जो हालेर १–२ गिलास दिनको २ पटक खान्थ्यौँ ।”
उनले आत्मबल दह्रो बनाउन सबै संक्रमितलाई अनुरोध गरेका छन् । “म बिरामी होइन संक्रमण शरीरमा प्रवेश गरेको हो, यो हराउँछ भन्ने सोच मात्रले पनि यो रोग सजिलै जित्न सकिने रहेछ”, उनले आफ्नो अनुभवको आधारमा भनेका छन् ।
कोरोना संक्रमणमुक्त भएपछि डा. बगालेले कोरोना संक्रमित गम्भीर प्रकृतिका बिरामीका लागि प्लाज्माथेरापीबाट उपचार गराउनुपर्ने अवस्था आएमा आफू तयार रहेको बताएका छन् । “प्लाज्माथेरापीबाट कसैको उपचार गराउनुपर्ने भए म रगत दिन तयार छु” डा. बगालेले फेसबुकमा लेखेका छन् ।
कोरोना देखिएपछि डा. बगाले परिवारले सामाजिक दुव्र्यवहार सामना गर्नुपरेको थियो । उनको घरमा ‘संक्रमितको घर’ लेखिएको ब्यानर टाँग्न लागिएपछि उनले त्यसलाई सार्वजनिक गरेका थिए । त्यसपछि राष्ट्रियरुपमै यसको विरोध भएको थियो ।