राष्ट्रिय प्रतियोगितामा आफ्ना शिष्यहरुले धमाकेदार प्रदर्शन गरेपछि प्रशिक्षक कान्ती महतो दंग छिन् ।
विनोदबाबु रिजाल
भरतपुर, २४ असार ।
राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय खेलकुद प्रतियोगितामा चितवनका दुई खेलाडीले शनिबार थप ४ स्वर्ण जितेका छन् । काठमाडौंमा भएको विद्यालयस्तरको सबैभन्दा ठूलो प्रतियोगितामा चितवनको शान बढाउने क्रममा शनिबार भुवन महतोले २ र वीरेन्द्र चौधरीले २ स्वर्ण जिते ।
शुक्रबारमात्र राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलबाट प्रतिनिधित्व गर्दै लङजम्पतर्फ ३० वर्षअघिको कीर्तिमानी भंग गरेका भुवनले शनिबार ट्रिपल जम्प र ४ बाई १०० रिलेदौडमा स्वर्ण जिते । उनीसँगै दौडेका चितवनकै वीरेन्द्र चौधरीले पनि ४ बाई १०० रिलेदौडमा स्वर्ण र ज्याबलिन थ्रोमा स्वर्ण जिते ।
जिल्ला तहबाटै धमाकेदार खेल खेलेका यी दुई किशोरले क्षेत्रीय र राष्ट्रिय दुवै प्रतियोगितामा आफूलाई अब्बल सावित गरिदिए । एथलेटिक्स प्रशिक्षक कान्ती महतोले दिएको जानकारीअनुसार भुवनले शनिबारको खेलमा ट्रिपल जम्पमा कूल १३.२२ मिटर जम्प हानेर पहिलो स्थान हात पारे । त्यस्तै वीरेन्द्रले ज्याबलिन थ्रो ४५ मिटर फालेर स्वर्ण जिते ।
यसअघि शुक्रबार भुवनले लङजम्पमा ६.५३ मिटर जम्प गरेर नयाँ राष्ट्रिय कीर्तिमान राखेका थिए । यो कीर्तिमान २०४४ सालयताकै उच्च हो । २०४४ सालमा चितवनकै धनवीर चौधरीले तत्कालीन वीरेन्द्र शिल्डमा ६.४१ मिटर जम्प हानेका थिए । “भुवनको प्रदर्शनले अति नै खुसी छु”, एथलेटिक्स प्रशिक्षक कान्ती महतोले भने, “यसपालि निकै राम्रो भयो, सोचेको भन्दा उत्कृष्ट खेले ।”
शनिबार नै भएको ४ सय मिटर दौडमा भने भुवनले दोस्रो स्थान हात पार्दै रजत जिते । यसमा पनि कान्तीले तेस्रो स्थानसम्मको अपेक्षा गरेकी थिइन् । भुवनले यसमा पनि राम्रो गरेर देखाइदिए । “भुवन निकै राम्रो निस्किए”, उनले भनिन्, “वीरेन्द्र पनि उस्तै ट्यालेन्ट छ, तर यिनको प्रदर्शन कसरी उस्तै राख्ने भन्नेमा मलाई चिन्ता छ ।” वीरेन्द्रले शुक्रबार सटपुटमा कांस्य जितेका थिए ।
क्षेत्रीय प्रतियोगितामा भुवन एक्लैले ५ स्वर्ण जितेका थिए भने वीरेन्द्रले ४ स्वर्ण जितेका थिए । मध्यमाञ्चलमा एथलेटिक्सतर्फ चितवन पहिलो भएको थियो ।