कायाकैरन संवाददाता,
भरतपुर, ५ भदौ ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि निषेधाज्ञा तथा लकडाउन लागू गरिएपछि यस पटक हरितालिका तीज मनाउने शैलीमा परिवर्तन आएको छ । यस अघिका वर्षमा गाउँघर तथा विभिन्न टोलका महिलाहरू भेला भई शिवालयमा नाचगान गरी तीज मनाउँथे । महामारीका कारण सरकारले समूहमा भेला हुन प्रतिबन्ध लागाएपछि भने यस पटक सबै महिलाहरूले आआफ्नै घरमा तीज मनाएका छन् । यस अघिका वर्षमा तीज मनाउन माइत जाने महिलाहरू प्रतिबन्धका कारण पनि घरै बस्न बाध्य भए ।
लकडाउन तथा निषेधाज्ञा लागू गरिएपछि तीजको व्रत बस्ने र पूजा गर्ने शैलीमा पनि परिवर्तन आएको छ । चितवन तथा अन्य शहरी जिल्लामा बसोबास गर्ने महिलाहरूले यस पटक जुम मिटिङबाट नै हरितालिका व्रतको पूजा सम्पन्न गरेका हुन् । पोखरा महानगरपालिका निवासी महेश पराजुलीद्वारा सञ्चालित जुम मिटङमा सहभागी भई महिलाहरूले हरितालिका व्रतपूजा सम्पन्न गरेका हुन् । जुम मिटिङमार्फत डा. गुरुप्रसाद सुवेदीले महिलाहरूलाई पूजाविधिका बारेमा जानकार गराउँदै संकल्प मन्त्रोच्चारण र महात्म्य कथा सुनाएका थिए । मिटिङमा भरतपुर, काठमाडौं, पोखरा, बुटवल, लगायत शहरबाट ७० जना महिलाहरूले सहभागिता जनाएका थिए । उनीहरूले साँझ ६ः३० बजेदेखि ७ः३० बजेसम्ममा जुम मिटिङकै सहायताले व्रतपूजा समापन गरे । पराजुलीले विभिन्न सन्त तथा विज्ञ व्यक्तिहरूलाई जुम मिटिङमा उपस्थित गराई लकडाउन सुरु भएयता दैनिक सत्संग तथा प्रवचन सञ्चालन गर्दै आएका छन् ।