भरतपुर, ५ भदौ ।
ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी महिलामा पाठेघरमा गम्भीर संक्रमणको समस्या पनि रहेको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए ।
त्यसैगरी साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी पुरुषलाई भने कोरोना बाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको निर्देशक शाक्यले जानकारी दिए ।
स्रोतः रेडियो कान्तिपुर