भरतपुर, ५ भदौ
चितवनमा स्वास्थ्यकर्मीसमेतगरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरुमध्ये चितवनका २२ जना छन् । उनीहरुमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन् । ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीहरु हुन् । उनीहरु ९ वर्ष देखि ६७ वर्ष सम्मका छन् ।
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार २ जना स्टाफ नर्ससहित १० जनामा संक्रमंण देखिएको बताए । भरतपुर अस्पतालबाट स्वाब दिएकाहरु लक्षणसहित परीक्षणका लागि आएकाहरु रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
राप्ती नगरपालिकाको वडा नम्बर २ र ८ मा क्वारेन्टिनमा बस्द आएका तीन जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले बताइन् ।
त्यतै नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक÷एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । नवलपुरका ४० वर्षीय पुरुषको स्वाब नवलपुरकै मध्यविन्दु अस्पतालबाट लिइएको हो । अन्यको क्यान्सर अस्पताल भरतपुरबाट लिइएको हो ।
बिहीबार राती ३०६ वटा स्वाबको नमूना परीक्षण गर्दा अन्य २८० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । चितवनमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । उनीहरु मध्ये ११३ जना निको भइसकेका छन् ।