प्रमिता ढकाल
२४ असार।
महिलाको पक्षमा बनेका निति नियमको प्रभावकारीताका लागि महिलालाई कानुनी साक्षरता आवश्यक रहेको भरतपुरका महिलाहरुले बताएकाछन् ।शहरी भूभागमा बसोबास गरेपनि व्यक्तिगत रुपमा कानुनबारे अनविज्ञ हुंदा आफ्नै निम्ति बनेका ऐननियम समेत प्रयोगविहिन भइरहेको उनीहरुको ठम्याई छ ।कल्याणकारी आमा समुह भरतपुर १० ले आयोजना गरेको नेपालको संविधानमा महिलाको संवैधानिक हक अधिकार एवम् सकारात्मक चिन्तन सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरुले यस्तो बताएकाहुन् ।कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाटले सहभागिहरुलाई महिलाको पक्षमा नेपालको संविधानले व्यवस्था गरेका लिखित कानुन बारे जानकारी गराएकीछिन् ।पैतृक सम्पतीमा महिलाको हकको सुनिश्चितताका लागि पटक पटक परिमार्जन गरेर बनाइएको काुननले महिलालाई बलियो बनाए पनि कार्यान्वयनमाल्याउन महिला स्वयम अग्रसर हुनुपर्ने उनले जोड दिइन् ।परिवारका हरेक सदस्यलाई बराबर पैतृक सम्पतीको हकको व्यवस्था गरीएको उनले बताइन् ।सहभागि महिलाहरुले कानुन बन्नु अगावै विहे भएकाहरुको हकमा लागु हुने नहुनेबारे आफ्नो जिज्ञासा राखेका थिए ।सहभागिहरुले आमाको नामबाट सहजै नागरिकता बनाउन सक्ने प्रावधान कानुनमा उल्लेख भएपनि व्यवहारिक कठिनाई बारे आफ्ना अनुभव सुनाएकाछन् ।सहभागिको जिज्ञासा मेटाउन अधिवक्ता रानाभाटले लिखितम कानुनलाई कायान्वयनमा ल्याउन सबैले चनाखो भई खबरदारी गर्न आवश्यक रहेको बताइन् ।कार्यक्रममा सहभागिहरुलाई कानुनकी विद्यार्थी कृपा पोखरेलले संविधानले व्यवस्था गरेका मौलिक हकबारे जानकारी गराएकीछिन् ।मौलिक हकले महिला र पुरुष सबैलाई समान रुपमा हेर्ने भन्दै आफ्नो अधिकार र दायित्वबारे जानकार हुन आवश्यक रहेको उनले बताइन् ।
आर्ट अफ लिभिङ नेपालका प्रसिद्ध प्रशिक्षक तथा अन्तरराष्ट्रिय योग प्रशिक्षक पवन नेपालले सकारात्मक चिन्तनबारे प्रशिक्षण दिएकाछन् ।मन मष्तिस्क र शरिकको सन्तुलनबाट सकारात्मक जीवनशैली अपनाउन योग र ध्यानलाई थोरै समय दिन उनले सुझाए । घर परिवार चलाउनु सामान्य काम नभएको उल्लेख गर्दै हरेक दायित्वको आआफ्नो महत्व हुने उनले बताए ।जीवलाई उर्जाशिल बनाइराख्न तनाव मुक्त हुनुपर्ने भन्दै सकारात्मक सोचको विकास गर्न उनले सुझाए । कल्याणकारी आमा समुहका अध्यक्ष देवी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लक्ष्मी पोखरेल,दिवा आचार्य,भगवती पौडेल लगायतको सहभागिता थियो । भरतपुरका ४० वटा विभिन्न टोल समितीबाट प्रतिनिधित्व गरेका करिव ९० जना महिलालाई महिलाको पक्षमा बनेका कानुन र कार्यान्वयनको पाटोबारे अभिमुखिकरण गरीएको हो ।