४ भाद्र ।
टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना भाइरस संक्रमितलाई प्रति दिन ३ सय ५० रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई सन्तुलित भोजनका लागि उक्त रकम दिने निर्णय गरेको हो । अस्पतालमा बस्नेलाई अस्पतालले नै सबै कुरा व्यवस्था गरे पनि होम आइसोलेसनमा बस्नेलाई कुनै निकायले सहुलियत नदिने भएकाले नगरपालिकाले सन्तुलित भोजनका लागि उक्त रकम उपलब्ध गराउन लागेको मेयर प्रकाश अधिकारीले बताए । स्वास्थ्य शाखाले प्रमाणित गरिसकेपछि होम आइसोलेसनमा बसेकाहरूलाई एकमुष्ट रकम उपलब्ध गराउने उनले जानकारी दिए । यसका लागि स्वास्थ्य शाखाको सिफारिस चाहिने नगरपालिकाले जनाएको छ ।
संक्रमण बढ्दै गएपछि नगरपालिकाले वडा नं १ को सामुदायिक भवन, ६ को सामुदायिक अध्ययन केन्द्र, ९ को पिस ब्यांक्वेट, ११ को सामुदायिक भवन, ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवनमा संक्रमितहरूलाई राख्ने व्यवस्था मिलाउन अध्ययन गर्न उपमेयर ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरेको छ ।
नगरपालिकाले अहिलेलाई टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ४० देखि ६० शय्याको आइसोलेसन विस्तार गरिने जनाएको छ । नगरपालिकामा अहिलेसम्म ८२ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्रोतः इकान्तिपुर