धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२४ असार ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्वर १० र ११ लाई पूर्ण खोप घोषणा गरिएका छन् । यी दुई वडाभित्र अब कुनैपनि बच्चा १२ महिनादेखि २३ महिना मुनिका १ सय ४२ जना बच्चालाई आवश्यक सम्पूर्ण खोप लगाइएको छ ।
त्यस्तै १ वर्ष मुनिका १ सय ६५ जना बच्चालाई खोपको मात्रा पूरा लगाइएको छ । खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलियाको प्रमुख आतिथ्यतामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी साविक कठार गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरियो । यहाँका बच्चा खोपबाट वञ्चित नभएकाले पूर्ण खोप घोषणा गरिएको कठार स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट रामचन्द्र श्रेष्ठले जानकारी दिए । ९ महिनाको दादुरा रुवेला खोप लगाएपछि पूर्ण खोप मानिन्छ ।
बच्चा जन्मनेबित्तिकै बीसीजी खोप लगाइन्छ । त्यस्तै ४५ दिनपछि प्रत्येक एक महिनाको फरकमा तीन पटक डीपीटी, हेपाटाईटिस, एचआईबी, पीसीबी, दादुरा रुवेला र १२ महिनामा जापानिज इन्सेफ्लाईटिसको खोप लगाउनु पर्छ । ती वडामा यी सबै खोप लगाए नलाएकोबारे घर–घरमा गएर सर्वेक्षण गरिएको थियो । स्वास्थ्यचौकी प्रमुख श्रेष्ठका अनुसार चैत २ गतेदेखि २७ गतेसम्म घर–घर पुगेर बच्चाले खोप लगाए÷नलगाएकोबारे जानकारी लिइएको थियो । त्यसपछि जिल्ला खोप समन्वय समितिलाई जानकारी गराएपछि समितिले वैशाखको पहिलो साता आएर अनुगमन गरेर यी वडालाई पूर्ण खोप घोषणा गरिएको श्रेष्ठले बताए ।
कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख थपलियाले पूर्ण खोप घोषणा गरिएपनि यसको कार्यान्वयनका लागि वडाबासी सचेत रहनुपर्ने बताइन् । “पूर्ण खोप घोषणा गर्दैमा कार्यक्रम सफल हुँदैन”, नगर उपप्रमुख थपलियाले भनिन्, “यसलाई निरन्तरता दिन यहाँका वडाबासी सचेत हुनुपर्छ ।” खैरहनी वडा नम्बर १० का वडाध्यक्ष एवं पूर्ण खोप घोषणा मूल समिति संयोजक कारीराम चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सचिव नरहरी शर्मा, खैरहनी–११ का वडाध्यक्ष हाकिहसिंह उप्रेती, खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सुकबहादुर तामाङ, रेडक्रस समन्वय समिति कठारका सभापति खडानन्द सिलवाल, सामुदायिक मेलमिलाप केन्द्रका संयोजक अशोक अधिकारी, सुवर्णतारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर थापा, कठार माविका प्रधानाध्यापक कृष्ण घिमिरे, होली गार्डेन वोडिङका प्रिन्सीपल गोपाल प्रसाद सापकोटा,स्वास्थ्य चौकीका सिनियर अहेव रुद्र शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साविक कठार गाविसलाई पूर्ण खोप कायम राख्नका लागि कठार स्वास्थ्य चौकीले योजना बनाएको छ । यसको कार्यान्वयनका लागि स्वयंसेविका परिचालन, चेतनामूलक कार्यक्रम, आमा समूहको बैठकमा स्वास्थ्यकर्मी उपस्थित भई खोपको बारे जानकारी गराउने, होडिङ बोर्ड राख्नेलगायतका कार्यक्रम गरिने स्वास्थ्यचौकीले जनाएको छ ।