भरतपुर, ३ भाद्र ।
पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमिण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६८१ जना संक्रमित थपिएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ५ लाख ५४ हजार ३८८ परीक्षण गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण भएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या भने १२० रहेको छ । हालसम्म निको हुनेको संख्या पनि १७ हजार ७०० पुगेको छ ।
यस्तै, हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५ सय ७१ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ११८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार नेपालभर हालसम्म कोभिड१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको छ ।