भरतपुर, २८ वैशाख ।
स्थानीय तह निर्वाचनको लागि अन्तिम चुनावी सभा गर्न प्रमुख तीन दलका मुख्य नेता भरतपुर झरिसकेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओली भरतपुर झरिसकेका छन् । हवाइ मार्गबाट उनीहरु तीनजना नेता केहीबेर अघि भरतपुर झरेका हुन् । प्रचण्ड र देउवा एकै जहाजमा भरतपुर झरेका छन् भने ओली केहीबेरअघि छुट्टै जहाजमा आएका हुन् ।
ओली आउनासाथ दलबलसहित सभास्थल पोखरा बसपार्कतर्फ लागेका छन् भने प्रचण्ड र देउवा भरखरै सभास्थल केन्द्रीय बस टर्मिनलतर्फ लागेका छन् ।
दलहरु आज अन्तिम चुनावी सभामा जुट्दैछन् । आजै राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले दलहरुले गर्ने चुनावी प्रचारसम्बन्धी सबै कार्यक्रम आज सक्नुपर्नेछ । मौन अवधि सुरु भएलगत्तै चुनावी सभा, प्रचारप्रसार, विज्ञापन प्रकाशन तथा प्रसारण सबै बन्द गर्नुपर्ने छ ।
सोहीअनुसार आज चितवनमा पनि विभिन्न दलले चुनावी सभाहरु गर्दैछन् ।
कांग्रेस–मोओवादीको संयुक्त चुनावी आमसभा भरतपुरमा गरिदै छ । स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि कांग्रेस–माओवादी भरतपुर महानगर संयुक्त प्रसारप्रचार कमिटीको आयोजनामा दिउँसो १ बजे गर्ने आमसभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउँदैछन् । नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले बिहान ११ः५० बजेको फ्लाइटमा भरतपुर आउने जानकारी दिए ।
माओवादीका परिष्ठ नेता रामबहादुर थापा (बादल) र कांग्रेस वरिष्ठ नेता बालकृष्ण खाँडले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भरतपुर महानगरपालिकाको मेयर तथा उपमेयर पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपछि दुवै पार्टीका शीर्ष नेतृत्व एकै मञ्चबाट सम्बोधन गर्न आएको माओवादी केन्द्र चितवनका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।
भरतपुर केन्द्रीय बस टर्मिनलको खुल्ला चौरमा बृहत आमसभा गर्ने तयारी पूरा भएको संयुक्त चुनाव प्रचार समितिले जनाएको छ । महानगरका २९ वडाबाट बृहत ¥याली भरतपुरमा केन्द्रीय बसपार्क, हाकिमचोक, चौबिसकोठीचोक, लायन्सचोक, नारायणगढ बजार, शहीदचोक, पुलचोक हुँदै पोखरा बसपार्क, आँपटारी हुँदै बाईपास रोड भई पुनः केन्द्रीय बसपार्कमा आई सभामा परिणत हुनेछ ।
ओलीले ५ सभामा सम्बोधन गर्ने
एमाले भरतपुर महानगर कमिटीको आयोजनामा हुने आमसभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न अध्यक्ष ओली भरतपुर आएको नेकपा एमाले चितवनले जानकारी दिएको छ ।
अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेल पनि आएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए । आमसभा नारायणगढको पोखरा बसपार्कमा हुँदैछ । आमसभाअघि भरतपुरको चौबिसकोठीबाट नारायणगढको लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पोखरा बसपार्कमा ¥याली निकालिएको छ । ओलीले पोखरा बसपार्कको सभापछि रत्ननगर, कालिका, खैरहनी र भण्डारामा पनि सम्बोधन गर्ने कार्यतालिका छ ।