गैंडाकोट , २ भदौ
एनआरएनए पोर्चुगलका अध्यक्ष एवम् गैंडाकोट खेलकुद समितिका संस्थापक महासचिव तिलक गैह्रेले ५ वटा ह्वीलचियर निशुल्क सहयोग गरेका छन् । सात समुद्रपारि रहेर पनि आफ्नो जन्मस्थानको दु:ख र पीडालाई नजिकबाट नियालेका गैह्रेले गैंडाकोट नगरपालिकास्थित वडा नम्बर १ मा रहेको अपाङ्ग जीवन विकास संस्थामा आश्रय लिएका व्यक्तिहरुलाई उक्त ह्वीलचियर सहयोग गरेका हुन् । गैंडाकोट नगरपालिका वडा नम्बर ६ मा घर भएका गैह्रे पोर्चुगलमा व्यवसाय गर्दै आएका छन् । पोर्चुगलबाट गैह्रेले पठाएको सहयोग आज हस्तान्तरण गरिएको हो ।
संस्थामा रहेका १९ जना अपाङ्गता भएका व्यक्तिहरुमध्ये ५ जनालाई ह्वीलचेयर आवश्यक परेको जानकारी सामाजिक सञ्जालबाट थाहा पाएपछि मानवीय भावनाका गैह्रेले गैंडाकोट खेलकुद विकास समितिका संस्थापक अध्यक्ष लक्ष्मण कार्कीको समन्वयमा एक दिनको खाना र नगद १० हजार रुपैयाँसहित उक्त ह्वीलचियर उपलब्ध गराएको एनआरएनएका क्षेत्रीय कोषाध्यक्ष तोयनाथ कँडेल शिवले जानकारी दिए ।
ह्वीलचियर पाएपछि वैशाखीको भरमा हिँडिरहेका डीपी कोइरालाले गैह्रेले आफूहरुलाई खुट्टानै दिएको भन्दै अव टाढाटाढा जान आउन साथै क्षमताले भ्याएसम्मका दैनिक क्रियाकलाप गर्न सकिने बताए । दीपकवहादुर कार्कीले ह्वीलचियर नै आफूहरुको खुट्टा भएको भन्दै सहयोगी दातालाई धन्यवाद दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपालीले राज्यले कानुनमै अपाङ्गता भएका व्यक्तिको जिम्मा सरकारले लिने भनेपनि व्यवहारमा त्यसो नभएको बताए । `राज्यले कानुन बनाउने तर कार्यान्वयन नगर्दा आज अपाङ्गता भएका व्यक्तिहरुको जीवन परिवर्तनमा कठिनाई भएको भन्दै गैह्रेले गर्नुभएको मानवीय सहयोगले सरकारलाई पाठ सिकाएको छ´, नेपालीले भने- `कोभिड १९ जस्तो संकटकालीन अवस्थामा पनि आफ्नो ठाउँलाई सम्झिएर गैह्रेले कल्याणकारी कार्य गर्नुभएको छ ।´ `आगामी दिनमा आफूले पनि सामाजिक विकास मन्त्रालय मार्फत संस्थालाई सहयोग गर्ने प्रतिवद्धता गर्दछु´- नेपालीले भने ।
सहयोग ग्रहण पछि कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले अतिनै आवश्यक भएको सामग्री पाउँदा आफूहरु धेरै खुशी भएको बताए । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउँदा थप हौसला मिलेको सापकोटाको धारणा थियो ।
कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा, नेपाली काँग्रेसका नगरसभापति तारापति खरेल, वडा सभापति शिव काफ्ले, मौलाकालिका धार्मिक सेवा समितिका उपाध्यक्ष खगराज कँडेल, गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, नवलपुर जिल्ला बक्सिङ संघका जिल्ला उपाध्यक्ष दलवहादुर राना, नेविसंघ नगरसदस्य अमित घिमिरे, वडानम्वर ४ का संयोजक रोशन दर्लामी, उपसंयोजक अन्जिता परियारलगायतको उपस्थिती रहेको थियो ।