विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२४ असार ।
बिपिकोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक दुई मेसिन थपिएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन (आईएईए) ले अनुदान स्वरुप ‘बोन मिनरल डेन्सिटोमेट्री’ (बीएमडी) र पोर्टेबल गामा प्रोब उपकरण सहयोग गरेको हो ।
आईएईएका महानिर्देशक युकिया अमानोले शुक्रबार बोन मिनरल परीक्षण सेवाको उद्घाटन गरे भने गामा प्रोब उपकरण हस्तान्तरण गरे । करिब दुई करोड बराबरका अत्याधुनिक मेसिन अस्पताललाई सहयोग प्राप्त भएको क्यान्सर अस्पतालले जनाएको छ । अस्पतालका रेडियोलोजी विभागका प्राविधिक जयनारायण झाले हड्डीभित्र रहने क्याल्सियमलगायतका तत्वको १० वर्षपछिसम्मको अवस्था विश्लेषण गर्न मिल्ने बीएमडी मेसिन नेपालमै पहिलो पटक भित्रिएको बताए ।
“हड्डी भाँचिएमा, टुक्रिएमा कुन तत्व कति आवश्यक पर्छ भनेर तत्काल विश्लेष्ण गर्न अति महत्वपूर्ण छ”, उनले भने, “५० वर्षमाथिका महिला तथा बुढेसकालमा बढी हड्डीमा समस्या देखिन्छ, चाँडो रोगको निदान गर्न यो प्रविधि सहयोगी बन्नेछ ।” गामा प्रोबले स्तन क्यान्सरको शल्यक्रिया गर्दा छुटेका क्यान्सर सेल पहिचान गरी हटाउन सघाउने बताए । उनका अनुसार यो मेसिन बहिरंग विभागमा वा क्यान्सर पहिचान गर्न गाउँ–गाउँमा लगेर परीक्षण गर्न सकिने बताए । यो मेसिनले स्तन क्यान्सर गराउने सेल नचिरी हटाउन सकिने बताए ।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसीनले सघाउने बताउँछन् । “विगतमा घण्टौ पालो कुरेर सेवा लिनुपर्ने अवस्था थियो”, उनले भने, “अहिले पुराना मेसिन मर्मत भएका छन्, नयाँ मेसिन थपिएका छन्, सहजै उपचार लिन सक्ने वातावरण बनेको छ ।” वैशाखयता चिकित्सक तथा प्राविधिकले बढी सयम काम गर्न थालेका छन् । “आईएईएमार्फत हालसम्म ६÷७ करोड बराबरका मेसिन सहयोग गरिसकेको छ”, उनले भने, “हामी केही मेसिन मर्मत गर्दैछौँ, केही नयाँ ल्याउँदैछौँ ।” केही हप्ता पहिले पनि अत्याधुनिक सेल सेप्रेसन मेसुन अस्पताललाई सहयोग आएको थियो । चीन सरकारको आर्थिक सहयोगमा बनेको सो अस्पतालमा चीन सरकारको अनुदानमा अस्पतालले करिब ३२ करोड बराबरका उपकरण सहयोग पाएको थियो ।
“रेडियोथेरापी गर्ने एकमात्र मेसिन सञ्चालनमा छ, एउटा बिग्रेको छ”, कार्यकारी निर्देशक आचार्यले भने, “तीन हप्ताभित्र मर्मत हुन्छ, अर्को नयाँ मेसिन ल्याउन टेण्डर भइसकेको छ ।” उनका अनुसार उपचार नपाएर अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । “प्रयोगशालामा किट तथा केमिकल अभाव छैन”, उनले भने, “विशेषज्ञ चिकित्सककै नाम उल्लेख गरी टिकट काट्ने गरेका छौँ”, उनले भने, “सहज रुपमा उपचार दिन प्रतिवद्ध छौँ ।”
अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन (आईएइए)का महानिर्देशक युकिया अमानोले क्यान्सर रोग निदान अभियानमा सहजता ल्याउन अस्पताललाई उपकरण तथा तालिम दिइएको बताए । “क्यान्सर रोकथाम गर्न हामीले नेपालमा पनि सहयोग गर्ने गरेका छौँ”, अस्पतालभित्र आयोजित स्वागत कार्यक्रममा उनले भने, “नियमित चेकचाँज गर्ने र अस्पतालमा प्रयाप्त उपकरण भए निदान गर्न सजिलो पर्नेछ ।” उनले धेरै बिरामी उपचार गर्न ढिलो आउँदा बढी जोखिम निम्तने बताउँछन् ।
विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले अस्पतालले सेवा विस्तार गर्नुपर्ने सुझाव दिए । “सातै प्रदेशमा कम्तिमा एक क्यान्सर अस्पताल बनाउने नीति सरकारले लिनुपर्छ”, उनले भने, “यो अस्पतालले क्षमता विस्तार गरेर नयाँ बन्ने अस्पतालहरुलाई प्राविधिक तथा अन्य सहयोग गर्न अग्रसर बन्नुपर्छ ।” क्यान्सर उपचारलाई सर्वसुलभ बनाउनुपर्ने बताए । उनले विज्ञान तथा प्रविधि मन्त्रालयले तालिम तथा क्षमता विकासमा सहयोग गर्न तयार रहेको बताए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. प्रकाशराज न्यौपाने अस्पतालप्रतिको उपचारपद्धतिमा विश्वास बढ्दै गएको बताउँछन् । “बेलैमा उपचारसेवा दिने वातावरण बनाउन लागिपरेका छौँ”, उनले भने, “अस्पताल आइपुगेका बिरामी उपचार नपाएर फर्किनुपर्ने अवस्था हटेको छ ।”
पछिल्लो तथ्याङ्क अनुसार विपी क्यान्सर अस्पतालमा १ लाख २१ हजार जना बहिरंग विभाग मार्फत उपचार सेवा लिएका थिए । २३ हजार ९ सय ९१ जना बिरामीले आकस्मीक सेवा, ४ हजार ५ सय ४८ जना अस्पतालमा भर्ना भएका थिए । पछिल्लो एक वर्षमा २ हजार १ सय ८९ जनाले केमोथेरापी सेवा, ७ हजार ४ सय ८८ जनाले डेकयर मार्फत केमोथेरापी सेवा लिएका थिए । ३ हजार जनाले अप्ररेशन, २ हजार १ सय ३० जनाले रेडियोथेरापी सेवा, १ हजार बढीले सीटि स्क्यान तथा एमआरआई सेवा लिएका छन् । सन् २०१५ मा १ लाख १३ हजार ७ सय ७८ जनाले उपचार सेवा लिएका थिए । जसमध्ये २ हजार ६ सय ६० जना महिला र २ हजार ३ सय ४४ जना पुरुषले शल्यक्रिया र अन्य उपचार सेवा लिएका थिए ।
बिपी मेमोरियल क्यान्सर अस्पतालले प्रतिष्ठानका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेको छ । गुरुयोजना बनाएर मन्त्रालयमा पेश गर्ने काम सुरु गर्न थालिएको छ । करिव ५ वर्ष पहिले अस्पताल परिसरमा बनेको ५ तले भवनमा शैया विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको छ । केहि महिनाभित्र ७५ शैया थप हुने जनाइएको छ । बिरामीलाई बस्न सहज होस् भनेर २ सय २५ थान कुर्चि टिकट काउण्टर वरिपरी राख्ने काम गरिदैछ । अस्पतालमा हाल दैनिक सरदर ५ सय बिरामी उपचार गर्न आउँछन् । अस्पतालले पछिल्लो दुई महिनायता दैनिक सरदर ७ लाख आम्दानी गर्ने गरेको छ ।