भाद्र २ ।
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा पछिल्लो एक दिनमा थप ५ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरेना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ ।
नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा पित्तथैलीमा रहेको पत्थरीको उपचार गर्ने क्रममा ३८ वर्षीय गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि गत शुक्रबार ललितपुरको पाटन अस्पताल ल्याएकोमा उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत उनको आज बिहान मृत्यु भएको हो । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हिजो मात्र कोभिड–१९ उपचार केन्द्रको आइसीयूमा भर्ना गरिएको थियो । ती व्यक्ति उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगबाट समेत थिए ।
यस्तै, पोखराको कास्की सेवा अस्पतालमा गएराति कोरोनाकै कारण तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको मृत्यु भएको थियो । गएराति ११ बजे मृत्यु भएकी ती महिलामा आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।
उता बाँकेको नेपालगञ्ज वडा नम्वर ५ का ६२ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको छ । निमोनियाका कारण नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको थियो ।
यस्तै, संक्रमणबाट काभ्रेको धुलिखेल–७ का ९८ वर्षीय बृद्धको मृत्यु भएको छ । साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंको बानेश्वर निवासी उनको साथमा बस्दै आएका छोरा बुहारीमा पनि संक्रमण पुष्टि भएपछि काठमाडौंमा नै होम क्वारेन्टिनमा छन् । वृद्धका परिवारका ६ जना र एक जना आफन्तमा पनि कोरोना देखिएको छ ।
स्रोत ः रेडियो कान्तिपुर