भरतपुर,२४ असार ।
चितवनलाई मध्यमाञ्चल च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका भुवन महतोले शुक्रबार नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगितामा भुवनले शुक्रबार लङजम्पतर्फ राष्ट्रिय कीर्तिमान तोडेका हुन् । काठमाडौंमा भइरहेको राष्ट्रिय प्रतियोगितामा उनले मध्यमाञ्चलबाट प्रतिनिधित्व गर्दै लङजम्पमा स्वर्ण जितेका हुन् । उनले यसअघि रहेको ६.४१ मिटरको रेकर्ड तोडेर ६.५१ मिटरको छलाङ हाने ।
चितवनबाट क्षेत्रीय प्रतियोगितामा कूल १३ इभेन्टमा सहभागी भएकोमध्ये भुवनले एथलेटिक्समा ५ स्वर्ण जितेका थिए । चितवनले ७ स्वर्ण जित्दा उनको ५ सहित एथलेटिक्सबाट ६ स्वर्ण हात लागेको थियो । ती खेलहरुमध्ये भुवनले अब शनिबार ४ सय मिटर दौड र ट्रिपल जम्पमा सहभागिता जनाउने प्रशिक्षक महतोले जानकारी दिइन् । “ट्रिपल जम्पमा उनको निकै राम्रो छ”, उनले भनिन्, “यसमा स्वर्णको अपेक्षा गरेकी छु, ४ सय मिटर दौडमा पनि राम्रै आशा छ ।”
चितवनबाटै सहभागी वीरेन्द्र चौधरीले सटपुटमा कांस्य जितेको एथलेटिक्स प्रशिक्षक कान्ती महतोले जानकारी दिइन् । यसअघि क्षेत्रीय प्रतियोगितामा वीरेन्द्रले चितवनलाई ज्याबलिन थ्रोमा स्वर्ण दिलाएका थिए । उनले ज्याबलिन थ्रोमा सहभागिता जनाउनै बाँकी छ । त्यसमा पनि राम्रो गर्ने अपेक्षा प्रशिक्षक महतोको छ ।
भुवन जानकी मा.वि.बाट एसपालिको एसईई उत्तीर्ण विद्यार्थी हुन् भने वीरेन्द्र पनि दुर्गा मा.वि.बाट एसर्ईई उत्तीर्ण छन् ।