आंशिक
म आंशिक प्राध्यापक
म शिक्षक हुँ आंशिक
बिदाको दिन एकादशी बार्छु
कमाइको दिन ठूलो दशैँ मान्छु
सायद
बाबुले मलाई पूर्णतत्त्व प्रदान गरेनन् कि
वा मेरी धराले पूर्णतत्त्व नलिई
अल्पतत्त्वमै मन पो बुझाएकी थिइन् कि
वा मेरो जन्म हतारको परिणाम हो
मलाई रत्ति पनि थाहा छैन
वर्तमानमा अल्पज्ञ छु म
कहिलेकाहिँ सपनामा सर्वज्ञ बन्छु
जब आफ्नो स्व थाहा पाएँ
तब आफूलाई आंशिक पाएँ
कहिलेकाहिँ लेख्छु
शब्दहरुको गणित मिलाउँछु
आजकल दोसल्लासँग मितेरी बढेको छ
ट्वाक्कटुक्क अल्प विचारमा रमाउँछु
म कर्ता हुँ
म कर्म हुँ
म क्रिया हुँ
कर्ता, कर्म र क्रियाको त्रिकोणात्मक प्रेममा
कहिल्यै पूर्णवाक्य बन्न सकिनँ
खाउँला र पिउँलाको जिउँदो नियति भोग्दै छु म
आफ्नै छविलाई
कहिले प्रतिगमन भन्छु
कहिले अग्रगमन भन्छु
अझ आफ्नो हात जगन्नाथ हुँदा
प्रतिगमनलाई आंशिक गोरी बनाई
पाणिग्रहण गर्छु ।
( कवि अस्तफल चितवन साहित्य परिषद्का अध्यक्ष हुन् ।)