भरतपुर, २ भदौ
चितवनमा सशस्त्र प्रहरीका ४२ जनासहित थप ५० जनामा कोरना संक्रमण पुष्टि भएको छ ।
पूर्वीचितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले जानकारी दिए ।
संक्रमित सशस्त्र प्रहरी मध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । उनले एकैपटक यति धेरै सशस्त्रमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्न समस्या भएको न्यौपानेले बताए । यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन् ।
चितवनमा सोमबार राति गरिएको परीक्षणमा कुल ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये भरतपुर महानगरपालिकाका ४ जना, बाराका २ जना, मकवानपुर र गोरखाका एक/एक जना रहेका छन् । उनीहरु सबै भरतपुरकै विभिन्न अस्पतालमा उपचाररत छन् । सोमबार कुल ३ सय ५५ नमुना परीक्षण गरिएको थियो ।